२० दिनपछि फर्किएर २ गोल गरेपछि रोनाल्डोले भने– ‘क्रिस्टियानो इज् ब्याक’

एजेन्सी, कात्तिक १७
इटालियन क्लब युभेन्टसका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर आफू आफ्नै स्टाइलमा फर्किएको बताएका छन् । गत राति सिरी ए लिगमा अवे मैदानमा स्पेजियालाई १–४ ले हराउनेक्रममा रोनाल्डोले दोस्रो हाफमा बेन्चबाट मैदान छिरेर उच्च प्रदर्शन गर्दै २ गोल गर्दै टिमलाई महत्त्वपूर्ण जित दिलाएका थिए ।

रोनाल्डो तीन साताअघि कोरोनाबाट संक्रमित बनेयता २० दिनपछि संक्रमणमुक्त भएर गत रातिको खेलबाट फर्किएका थिए । कोरोनाका कारण घरमै आइसोलेसन बनाएर बसिरहेका रोनाल्डोले टिमसँगको प्रशिक्षणबिनै सोझै मैदान फर्किएका थिए । स्पेजियाविरुद्ध उनी बेन्चमा बसेर ५६औं मिनेटमा मैदान छिरेका थिए । उनले मैदान छिरेको ३ मिनेट पनि नबित्दै गोल गरेका थिए । त्यपछि उनले पेनाल्टीमार्फत् दोस्रो गोल गरेका थिए ।

सो खेलपछि रोनाल्डोलाई मिडियाले प्रतिक्रिया मागेका थिए । सोक्रममा रोनाल्डोले चेतावनीपूर्ण भाषामा आफू मैदान फर्किएको जनाउ दिए । सुरुआतमा उनले खुसी र उत्साहित हँदै सटिक प्रतिक्रिया दिँदै भने– ‘क्रिस्टियानो इज् ब्याक ।’

त्यसपछि रोनाल्डोले भने– ‘म कोरोना पोजेटिभ भएपछि लामो समय आइसोलेसनमा बसें । त्यहाँ मैले फुटबल खेल्न पाइनँ । तर, मलाई कुनै दिन कठिन भएन । किनभने, मलाई कोरोनाको लक्षण थिएन । र, मैले आफूलाई एकदमै ठीकठाक महसुस गरिरहें । आज म लामो समयपछि मैदान फर्किंए । आज २ गोलका साथ टिमलाई जिताउन पाउँदा म ज्यादै खुसी छु । हामी अबका दिनमा अझै राम्रो गर्दै जानेछौं ।’

प्रकाशित मिति १७ कार्तिक २०७७, सोमबार २०:२६
Loading...