पूर्वप्रशिक्षक सेटिन भन्छन्– ‘मेस्सीलाई चलाउन ज्यादै कठिन’

एजेन्सी, कात्तिक १७
स्पेनिस फुटबल क्लब बार्सिलोनाका पूर्वप्रशिक्षक क्विके सेटिनले यो बताएका छन् कि, क्लबका कप्तान तथा प्रमुख खेलाडी लिओनल मेस्सीलाई चलाउन र व्यवस्थापन गर्न ज्यादै कठिन छ । मेस्सीसँग काम गर्न एक मात्रै नभएर अनेक कारणले प्रशिक्षकका लागि कठिन हुने आफ्नो अनुभव रहेको सेटिएनले बताएका छन् ।

एक अन्तर्वार्तामा कुरा गर्दै मेस्सीलाई टोलीमा मिलाउन र व्यवस्थापन गर्न कठिन भए पनि बार्सिलोनाले त्यो कठिनाइलाई वर्षैंदेखि स्वीकार्दै आएकाले कुनै पनि प्रशिक्षकले उनलाई फरक ढंगले प्रयोग गर्न र व्यवस्थापन गर्न नसक्ने बताए । आफ्नो पालामा पनि मेस्सीसँग काम गर्न कठिनाइ भोगेको सेटिनले बताए ।

‘लियोलाई व्यवस्थापन गर्न र चलाउन ज्यादै कठिन छ । त्यो कठिनालाई बार्सिलोनाले वर्षौंदेखि स्वीकारेको छ । उनीहरूले स्वीकारेका छन् । र, वर्षौंदेखि झेलिरहेका छन् भने त्यो बदल्ने म को हुँ ?,’ सेटिनले भनेका छन्, ‘त्यहाँ प्रशिक्षक आफ्नो रणनीति र शैलीअनुसार नभएर मेस्सीको स्वभाव र शैलीअनुसार चल्नुपर्छ ।’

त्यसैगरी, सेटिएनले मेस्सीलाई आफूले सर्वकालीन् महान् खेलाडी मान्ने पनि बताए । ‘मलाई लाग्छ कि, मेस्सी इतिहासकै सर्वोत्कृष्ट खेलाडी हुन् । यस बीचमा अन्य महान् खेलाडी पनि नआएका होइनन् । तर, मेस्सीको एकनासको निरन्तरता जुन छ, त्यस्तो अरूको छैन,’ सेटिनएले भने, ‘मेस्सी अन्तर्मुखी स्वभावका छन् । यसकारण पनि उनका कुरा सुन्न र थाहा पाउन कहिलेकाहीं कठिन हुन्छ ।’

सेटिनले मेस्सीले अर्जेन्टिनाबाट एउटा उपाधि नजिते उनको करिअर अधुरै रहने बताए । ‘मैले अघि नै भनें कि, म लियोलाई सर्वकालीन् महान् खेलाडी मान्छु । तर, मलाई लाग्छ– मेस्सीले एउटा अन्तर्राष्ट्रिय उपाधि नजित्दासम्म उनको विशाल र अग्लो करिअर अधुरै हुनेछ,’ सेटिनले थपे ।

गत सिजन च्याम्पियन्स लिगमा जर्मन क्लब बार्यन म्युनिखसँग ८–२ को बेइज्जतीपूर्ण हारपछि बार्सिलोनाले सेटिनलाई बर्खास्त गरेको थियो । त्यसअघि उनी रियल बेटिसका प्रशिक्षक थिए । सेटिनपछि बार्सिलोनामा अहिले रोनाल्ड कोम्यान नयाँ प्रशिक्षक छन् । तर, कोम्यानको पालामा पनि बार्सिलोनाले राम्रो सुरुआत गर्न सकेको छैन । यता, मेस्सी पनि यो सिजन खराब स्थितिबाट गुज्रिरहेका छन् ।

प्रकाशित मिति १७ कार्तिक २०७७, सोमबार १९:५३
Loading...