अर्थुरद्वारा रोनाल्डोको खुलेर तारिफ

एजेन्सी, कात्तिक १७
इटालियन क्लब युभेन्टसका नयाँ खेलाडी अर्थुर मेलोले आफ्ना नयाँ सहकर्मी क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । गत राति सिरी ए लिग फुटबलमा युभेन्टसले अवे मैदानमा स्पेजियामाथि १–४ को फराकिलो जित निकालेपछि मिडियासँग प्रतिक्रिया दिँदै ब्राजिलियन अर्थुरले रोनाल्डोलाई ‘नायक’ खेलाडी भन्दै खुलेर तारिफ गरे ।

अर्थुर केही समयअघि मात्रै समर विन्डोमा स्पेनिस क्लब बार्सिलोनाबाट युभेन्टस पुगेका थिए । बार्सिलोनामा उनले दुई सिजन लिओनल मेस्सीसँगै खेलेका थिए । युभेन्टसमा उनी अहिले रोनाल्डोसँग खेलिरहेका छन् । विश्व फुटबलका दुई ठूला खेलाडीसँग सहकर्मी बनेर खेल्ने थोरै खेलाडीहरूमध्ये अर्थुर पनि एकमा पर्छन् ।

गत रातिको खेलमा रोनाल्डोले २० दिनपछि मैदान फर्किएर टोलीका लागि उच्च प्रदर्शन गर्दै २ गोल गरे । खेलको ५६औं मिनेटमा मैदान छिरेका रोनाल्डोले ३ मिनेट नबित्दै पहिलो गोल गरेर जम्मा २ गोल गर्दै टिमलाई सिजनको तेस्रो जित दिलाउन मुख्य भूमिका खेले । मात्रै ३७ मिनेट खेलेका रोनाल्डो २ गोलका साथ म्यान अफ् द म्याच घोषित भए ।

खेलपछि अर्थुरले रोनाल्डोको तारिफ गर्न भुलेनन् । उनले रोनाल्डोले सधैं नायक खेलाडीका रूपमा टिमलाई सघाउने बताए । ‘क्रिस्टियानो अद्भुत खेलाडी हुन्, टिमका लागि नायक । उनले सधैं आफ्नो टिमलाई शतप्रतिशत दिन्छन् । आज उनले बेन्चबाट आएर पनि २ गोल गरे । र, टिमलाई जिताउन योगदान दिए,’ अर्थुले भने, ‘हामी उनीसँग ज्यादै खुसी छौं । आजको जितबाट टिम उच्च मनोबलमा उभिएको छ ।’

अर्थुरले रोनाल्डोसँग खेल्दा टिम १–० ले पछि परेको स्थितिमा जितको हकदार बन्ने बताए । ‘उनको बारेमा धेरै के भन्ने ! जस्तै खराब स्थितिमा टिमलाई उकास्न क्रिस्टियानो एक्लैले आफ्नो बलबुँतामा खेलमा फरक मोड ल्याउन सक्छन् । यदि हामी १–० ले पछि परेका छौं र ८०औं मिनेटमा क्रिस्टियानो मैदान उत्रिए भने पनि उनले २ गोल गरेर टिमलाई जिताउँछन् । म उनमा कहिल्यै शंका गर्दिनँ,’ अर्थुरले भने ।

प्रकाशित मिति १७ कार्तिक २०७७, सोमबार १८:१७
Loading...