पियानिचले गरे मेस्सी र रोनाल्डोको तुलना

एजेन्सी, कात्तिक १७
स्पेनिस क्लब बार्सिलोनाका नयाँ खेलाडी मिरालेम पियानिचले आफ्ना कप्तान लिओनल मेस्सीको प्रशंसा गरेका छन् । एक अन्तर्वार्तामा कुरा गर्दै बोस्निया एन्ड हर्जगोभिनाका मिडफिल्डर पियानिचले मेस्सीसँग सहकर्मी बनेर खेल्न पाउँदा खुसी लागेको बताएका छन् । साथै, उनले पूर्वक्लब युभेन्टसका सहकर्मी क्रिस्टियानो रोनाल्डो र मेस्सीको पनि तुलना गरेका छन् ।

‘म बार्सिलोनाको खेलाडी बन्न पाउँदा निकै खुसी छु । म यहाँ केही सपना र महत्त्वकांक्षा बोकेर आएको छु । यो एक ठूलो र उत्कृष्ट क्लब हो,’ पियानिचले भनेका छन्, ‘यहाँ मेस्सीजस्ता जादुयी खेलाडी छन् । उनको सहकर्मी बन्न पाउँदा म ज्यादै खुसी छु । उनी उत्कृष्टमध्येका एक खेलाडी हुन् । म उनीबाट धेरै कुरा सिक्नेछु ।’

पियानिचले बार्सिलोनाबाट आफूले उपाधि जित्न सक्दो योगदान दिने बताए । ‘म यहाँ अझै धेरै जित्नका लागि आएको छु । टिमका लागि म शतप्रशित योगदान दिन तयार छु । म टिमको नियमित हिस्सा बन्न र सघाउन चाहन्छु,’ पियानिचले थपे ।

पियानिचले केही समयअघि पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डो आफ्नो सबैभन्दा बेस्ट सहकर्मी भनेर एक अन्तर्वार्तामा भनेका थिए । यसपटक पनि उनले रोनाल्डोको तारिफ गर्न भुलेनन् । ‘क्रिस्टियानो सबैभन्दा विशेष छन् । उनी मेरा लागि सबैभन्दा उत्कृष्ट सहकर्मी हुन् । मैले उनीसँग युभेन्टसमा दुई सिजन सँगै बिताए । उनी एक अनुकरणीय खेलाडी हुन्,’ पियानिचले भने ।

रोनाल्डो र मेस्सीको तुलना गर्दा पियानिचले दुवै एकै स्तरको खेलाडी रहेको बताए । तर, समग्र करिअरको र उपलब्धिलाई हेर्दा रोनाल्डो मेस्सीभन्दा माथि रहेको उनले बताए । ‘यी दुई खेलाडीको तुलना गर्न साह्रै कठिन छ । मेरा लागि त दुवैजना एकै स्तरका खेलाडी हुन् । मैले दुवैसँग खेल्ने सुनौलो मौका पाएँ,’ पियानिचले भने, ‘मेस्सी प्राकृतिक रूपमै प्रतिभावान् खेलाडी हुन् । तर, समग्र करिअर र उपलब्धिका आधारमा म मेस्सीभन्दा माथि रोनाल्डोलाई राख्छु । किनभने, उनले करिअरमा सबैथोक जितेका छन् ।’

प्रकाशित मिति १७ कार्तिक २०७७, सोमबार ०९:४३
Loading...