प्रिमियर लिग : टोटनह्यामको महत्त्वपूर्ण जितमा बेल नायक

काठमाडौं, कात्तिक १७
यसै समर विन्डोमा अनुबन्ध भएका वेल्स स्टार ग्यारेथ बेलले दोस्रो हाफमा मैदान छिरेर निर्णायक गोल गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले महत्त्वपर्ण जित निकालेको छ । गत राति भएको खेलमा टोटनह्यामले आफ्नो घरेलु मैदानमा पाहुना टोली ब्राइटनमाथि २–१ को जित निकालेको हो ।

टोटनह्यामलाई आफ्नो घरमा जिताउन ह्यारी केनले पेनाल्टीमार्फत् सुरुआती गोल गर्दा बेलले बेन्चबाट मैदान छिरेर निर्णायक गोल गरे । खेलको १२औं मिनेटा ब्राइटनका खेलाडीले बक्समा ह्यारी केनमाथि फउल गरेर लडाएपछि रेफ्रीले भिएआरमार्फत् टोटनह्यामलाई पेनाल्टी दिएका थिए, जसमा केनले गोल गरेर टिमलाई लिड दिए ।

त्यसपछि पाहुना टोली ब्राइटन खेलको ५६औं मिनेटमा खेलमा फर्कियो । ब्राइटनका लागि टाक्र्वी लाम्पाटेले गोल गरेर खेललाई १–१ बनाए । त्यसपछि घरेलु टोली टोटनह्याम दबाबमा परेको थियो । खेलमा कठिाइ बढ्ने भएपछि टोटनह्यामका प्रशिक्षक जोसे मोउरिन्होले ७०औं मिनेटमा इरिक लामेलाको स्थानमा बेललाई मैदान छिराए ।

मैदान छिरेको मात्रै २ मिनेटभित्र बेलले हेडिङमार्फत् उत्कृष्ट गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । सर्जियो रेगुइलियोनले बक्सभित्र दिएको पासमा बेलले कुनै गल्ती नगरी बललाई कर्नर च्यापेर हेडिङमार्फत् जाली चुमाएपछि टोटनह्याम जिततर्फ अघि बढेको थियो । अन्ततः ब्राइटनले बराबरी गोल फर्काउन नसक्दा खेल टोटनह्यामले २–१ ले जित्यो ।

यससँगै बेलले टोटनह्याममा अनुबन्ध भइकन पहिलो गोल गरेका छन् । दोस्रोपटक टोनह्यामका लागि खेल्दै गरेका उनले ४ खेलबाट १ गोल गर्न सफल भए । यसअघि उनले लिगमा २ र युरोपा लिगमा २ गरी ४ खेल खेलिसकेका थिए ।

अब यो जितसँगै टोटनह्याम लिगका ७ खेल सकिँदा १४ अंक बनाएर दोस्रो स्थानमा चढेको छ । समान खेलबाट १६ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । पराजित ब्राइटन ५ अंकसहित १६औं स्थानमा रहेको छ ।

प्रकाशित मिति १७ कार्तिक २०७७, सोमबार ०८:१७
Loading...