प्रिमियर लिग : आर्सनलले युनाइटेडलाई उसकै घरमा हरायो

काठमाडौं, कात्तिक १७
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । गत राति भएको खेलमा आर्सनलले युनाइटेडलाई उसकै घरेलु मैदानमा ०–१ ले स्तब्ध बनाएको हो । ओल्ड ट्राफोर्डमा भएको खेलमा आर्सनलले १ मात्रै पेनाल्टी गोल गरेर महत्त्वपूर्ण ३ अंक बटुल्न सफल भयो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा आर्सनलले पेनाल्टी गोलमार्फत् खेलमा अग्रता लिएर सोही अग्रता बचाएर खेल जित्यो । युनाइटेडको बक्समा पाउल पोग्बाले हेक्टर बेरेललिनलाई फउल गरेर लडाएपछि रेफ्रीले आर्सनललाई पेनाल्टीको मौका दिएका थिए, जसमा पियरे इमरिक अउबामेयाङले कुनै गल्ती नगरी गोल गरे ।

आर्सनलको पेनाल्टी गोलपछि र अघि पनि युनाइटेडले आफ्नो घरमा पटक–पटक गोलका अवसर सिर्जना गरेको थियो । तर, प्रयास गोलमा परिणत हुन नसक्दा उसले आफ्नै घरेलु मैदानमा नतिजा ०–१ ले आर्सनललाई जिम्मा लगायो ।

अब यो जितसँगै आर्सनल ७ खेलबाट १२ अंक जोडेर अंक तालिकाको नवौं स्थानमा चढेको छ । पराजित युनाइटेड अझै पनि ६ खेलबाट मात्रै ७ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

प्रकाशित मिति १७ कार्तिक २०७७, सोमबार ०७:४८
Loading...