२० दिनपछि मैदान फर्किएका रोनाल्डो चम्किँदा युभेन्टसको फराकिलो जित

काठमाडौं, कात्तिक १६
कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित बनेपछि तीन साताको उपचारबाट संक्रमणमुक्त भएर २० दिनपछि मैदान फर्किएका क्रिस्टियानो रोनाल्डोले बेन्चबाट मैदान छिरेर २ गोल गरेपछि इटालियन सिरी ए लिगमा युभेन्टसले फराकिलो जित निकालेको छ । आइतबार राति भएको लिगको छैटौं खेलमा युभेन्टसले स्पेजियालाई उसकै घरमा १–४ गोलअन्तरले हराउँदा ३५ वर्षीय रोनाल्डो नायक बने ।

लामो समयपछि मैदान फर्किएका रोनाल्डोले उत्कृष्ट पुनरामगन गर्न धेरै समय लागेन । उनले टिमका लागि विजयी गोल मात्रै गरेनन्, आफ्नो नाममा २ गोल पनि लेखाए । ५६औं मिनेटमा पाउलो डिबालाको स्थानमा मैदान छिरेका उनले मैदान पसेको ३ मिनेटमै पहिलो गोल गरेका थिए । त्यसपछि उनले दोस्रो गोल भने पेनाल्टीमार्फत् गरे ।

युभेन्टसका लागि खेलको १४औं मिनेटमा अल्भारो मोराटाले गोल गरेका थिए । वेस्ट म्याकेनीले बक्स भित्रबाट दिएको सहज पासमा मोराटाले सहजै गोल गरेका थिए । म्याकेनीले सो बल आफैं प्रहार गर्न सक्ने भने पनि उनले गोल निश्चित गर्न अनमार्क रहेका मोराटालाई पास दिएका थिए । जसमा मोराटाले कुनै गल्ती नगरी गोल गरे । मोराटाको गोललाई भिएआरमार्फत् मान्यता दिइएको थियो । त्यसपछि पनि मोराटाले अर्को गोल गरेका थिए । तर, सो गोलले मान्यता पाएन ।

तर, युभेन्टसले अग्रता धेरैबेर जोगाउन सकेन । ३२औं मिनेटमा घरेलु टोली स्पेजियाका लागि टोमासो पोवेगाले गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकियो । दोस्रो हाफमा चाँडो गरी मैदान छिरेका रोनाल्डोले उच्च प्रदर्शन गर्दै युभेन्टसलाई जितको बाटो देखाएका थिए ।

रोनाल्डोले ५९औं मिनेटमा मोराटाको पासमा बक्स भित्रबाट सुन्दर गोल गरेका थिए । उनले स्पेजियाका गोलकिपरलाई बिट गरेर बललाई सहजै पोस्टको दिशा दिएपछि युभेन्टसले खेलमा १–२ को अग्रता बनायो । त्यसपछि ६७औं मिनेटमा युभेन्टसका लागि आड्रेन राबिओटले गोल गर्दै खेल १–३ बनाए । सो गोलमा किइजाले असिस्ट गरेका थिए ।

त्यपसपछि ७६औं मिनेटमा युभेन्टसले पेनाल्टी पायो । बक्समा स्पेजियाका खेलाडीले युभेन्टसका किइजालाई फउल गरेर लडाएपछि पाएको पेनाल्टीमा रोनाल्डोले पेनका पेनाल्टी प्रहारमा गोल गर्दै टिमको १–४ को जित पक्का गरे ।

आजको खेलमा गरेको २ गोलसँगै रोनाल्डोले यस सिजन युभेन्टसका लागि ३ खेलबाट ५ गोल गरेका छन् । उनले २ गोलमा असिस्टसमेत प्रदान गरेका छन् । कोरोनाका कारण उनले यसअघि क्लबका ३ खेल गुमाएका थिए ।

अब यो जितपछि युभेन्टसले लिगका ६ खेलबाट १२ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा चढेको छ । ऊ समान खेलबाट १६ अंक बनाएको एसी मिलानभन्दा अझै ४ अंकले पछि छ । मिलान र युभेन्टस लिगमा अझै अपराजित रहेका छन् ।

प्रकाशित मिति १६ कार्तिक २०७७, आईतवार २१:३९
Loading...