स्पेजिया भर्सेस युभेन्टस : पहिलो हाफमा १–१ को बराबरी

काठमाडौं, कात्तिक १६
इटालियन सिरी ए लिग फुटबलमा अहिले स्पेजिया र युभेन्टसबीचको खेल जारी छ । यसै सिजन शीर्ष लिगमा बढुवा भएको स्पेजियाको घरेलु मैदानमा जारी खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ । युभेन्टसका लागि खेलको १४औं मिनेटमा अल्भारो मोराटाले गोल गरेका थिए ।

वेस्ट म्याकेनीले बक्स भित्रबाट दिएको सहज पासमा मोराटाले सहजै गोल गरेका थिए । म्याकेनीले सो बल आफैं प्रहार गर्न सक्ने भने पनि उनले गोल निश्चित गर्न अनमार्क रहेका मोराटालाई पास दिएका थिए । जसमा मोराटाले कुनै गल्ती नगरी गोल गरे । मोराटाको गोललाई भिएआरमार्फत् मान्यता दिइएको थियो । त्यसपछि पनि मोराटाले अर्को गोल गरेका थिए । तर, सो गोलले मान्यता पाएन ।

तर, युभेन्टसले अग्रता धेरेबेर जोगाउन सकेन । ३२औं मिनेटमा घरेलु टोली स्पेजियाका लागि टोमासो पोवेगाले गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकियो । अब दोस्रो हाफमा युभेन्टसले हालसालै कोरोना भाइरसको संक्रमणबाट मुक्त हुँदै आएका क्रिस्टियानो रोनाल्डो मैदान उतार्नेछ ।

प्रकाशित मिति १६ कार्तिक २०७७, आईतवार २०:३३
Loading...