एसी मिलानको जितमा ज्लाटन नायक : अपराजित यात्रा कायमै

काठमाडौं, कात्तिक १६
इटालियन सिरी ए लिग फुटबलमा यो सिजन उत्कृष्ट लयमा रहेको एसी मिलानले अर्को जित दर्ता गरेको छ । आइतबार भएको लिगको छैटौं खेलमा मिलानले उडिनेसलाई उसकै घरेलु मैदानमा १–२ गोलले हरायो ।

मिलानको जितमा ३९ वर्षीय भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच नायक बने । उनले टिमका लागि अन्तिम समयमा विजयी गोल गरे । मिलानले खेलको १८औं मिनेटमा फ्रान्क केसेईको गोलबाट अग्रता लिएको थियो । सो गोलमा ज्लाटनले ने असिस्ट गरेका थिए ।

त्यसपछि दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमै उडिनेसले पेनाल्टीमार्फत् गोल हान्यो । सो गोल रोड्रिगो डे पाउले गरेका थिए । त्यसछि दुवै टोली विजयी गोलको खोजीमा रहेका बेला ८३औं मिनेटमा मिलानका लागि ज्लाटनले निर्णायक गोल हो । एन्टे रेबिचले बक्सभित्र दिएको हाई पासमा ज्लाटनले ओभरहेड किक प्रहार गर्दै बललाई पोस्टको दिशा दिएका थिए । उनको गोलपछि उडिनेस खेलमा फर्किन सकेन । र, खेल मिलानले १–२ ले जित्यो ।

यससँगै मिलानले लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । उसले ६ खेल खेलिसक्दा ५ खेलमा स्पष्ट जित निकालेर १ खेलमा बराबरी गरेको छ । ऊ हाल १६ अंकसहित शीर्ष स्थानमा छ । पराजित उडिनेस मात्रै ३ अंकसहित १८औं स्थानमा छ ।

प्रकाशित मिति १६ कार्तिक २०७७, आईतवार १९:२१
Loading...