म अब कहिल्यै बार्सिलोनाको प्रशिक्षक बन्नेछैन : ग्वार्डिओला

एजेन्सी, कात्तिक १६
इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रमुख प्रशिक्षक पेप ग्वार्डिओलाले आफू अब कहिल्यै पनि पूर्वक्लब बार्सिलोनाको प्रशिक्षक नबन्ने घोषणा गरेका छन् । पछिल्लो समय बार्सिलोना खराब स्थितिबाट गुज्रिरहेका बेला आउनेवाला बार्सिलोनाको नयाँ बोर्ड नेतृत्वले पूर्वप्रशिक्षक पेपलाई फर्काउन चाहेको चर्चा भइरहँदा पेप आफैंले यसको ढोका बन्द गरिदिएका छन् ।

बार्सिलोना अहिले नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा ला लिगामा १८ वर्षयताकै सबैभन्दा खराब स्थितिमा छन् । ऊ लिगका ६ खेल सकिँदा मात्रै मात्रै ८ अंक बनाएर १२औं स्थानमा छ । ऊ हालकै अवस्थामा आफ्नो खास प्रतिस्पर्धी तथा गत सिजनको च्याम्पियन रियल मड्रिडभन्दा ८ अंकले पछि परिसकेको छ ।

बार्सिलोना लगातार खराब स्थितिबाट अघि बढिरहँदा बार्सिलोनाको आउने नयाँ नेतृत्वले पेपलाई फर्काउन प्रयास गर्ने चर्चा छ । यसअघिका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पदबाट राजीनामा गरिसकेकाले क्लब नयाँ नेतृत्वको पर्खाइमा छ । यसअघि अध्यक्ष बार्टोमेउसँगको खराब सम्बन्धकै कारण मेस्सीले क्लब छाड्ने निर्णय गरेर अन्तिम समयमा निर्णय फिर्ता लिएका थिए । अब क्लबको बोर्डमा नयाँ व्यक्ति आएर अवस्था सामान्य बने मेस्सीले बार्सिलोनाको बसाइ लम्ब्याउने सम्भावना छ ।

मेस्सीले बार्सिलोनाको बसाइ लम्ब्याउने सम्भावनाबीच अध्यक्ष पदका प्रमुख दाबेदार भिक्टोर फन्टले खुलेरै अबको नयाँ प्रशिक्षकमा ग्वार्डिओला वा पूर्वखेलाडी जाभी हर्नान्डेजमध्ये एकलाई फर्काउन प्रयास गर्ने बताउँदै आएका छन् । जाभी हाल कतारी क्लब अल सदाको प्रमुख प्रशिक्षक छन् । यता, पेप बार्सिलोना छाडेपछि जर्मन क्लब बार्यन म्युनिख हुँदै अहिले सिटीमा छन् ।

विगतमा पेपले सन् २००८ देखि २०१२ सम्म बार्सिलोना सम्हाल्दा अपत्यारियला सफलताहरू दिलाएका थिए । उनले आफ्नो पालामा तीन ला लिगासहित दुई च्याम्पियन्स लिग जिताएका थिए । उनकै पालामा बार्सिलोनाले एकै सिजनमा ट्रिबेल उपाधि पनि जितेको थियो । पेपकै पालामा मेस्सीले लगातार चार वर्ष बालोन डि‘ओर अवार्डसमेत जितेका थिए ।

सन् २०१६ देखि सिटीमा रहँदै आएका ग्वार्डिओलाको अवस्था प्रभावपूर्ण रहन नसकिरहेका बेला उचित समयमा उनी बार्सिलोना फर्किन सक्ने चर्चा छ । केही समयअघि मेस्सीले बार्सिलोना छाड्ने निर्णय गरेका बेला पेपकै योजनामा सिटीलाई मेस्सीलाई भित्र्याउने प्रयास गरेको थियो । तर, सिटीले मेस्सीको ७०० मिलियन युरोको रिलिज क्लज तिर्न नसकेपछि मेस्सी बाध्य बनेर बार्सिलोनामै रहेका थिए ।

हालै एक अन्तर्वार्तामा पेपलाई सिटी छाडेर बार्सिलोना फर्किन सक्ने सम्भावनाबारे सोधिएको थिए । जसमा स्पेनिस म्यानेजर पेपले अब त्यो सम्भावना नरहेको र आफ्नो बार्सिलोनमा कोचिङ करिअर सधैंका लागि समाप्त भएको बताए । बार्सिलोना फर्किने विषयमा पेपले भनेका छन्–

‘मैले धेरैपटक भनिसकेको छु कि, बार्सिलोनामा मेरो कोचिङ करिअर सधैंका लागि सिद्धिसकेको छ । मेरो विचारमा मानिसले जीवनमा कुनै कुरा एकपटक मात्रै गर्नुपर्छ । मेरा लागि यो कुरा पूरा भइसकेको छ । म मेरो सहरमा कुनै दिन मेरो पुरानो क्लब हेर्न फर्किनेछु । खेल हेर्न, सँगै काम गरेका खेलाडीसँग भेट गर्न, कुरा गर्न र अन्य साथीभासँग भेट्न । तर, म कोचका रूपमा त्यहाँ फेरि कहिल्यै पनि फर्किनेछैन । यो अब सिद्धिसक्यो ।’

पेपले बार्सिलोना खराब अवस्थामा रहँदा आफूलाई दुःख लाग्ने बताउँदै भविष्यमा त्यहाँ कोही योग्य व्यक्ति आउने र टिम सम्हाल्ने विश्वास लिए । ‘बार्सिलोनाप्रति मेरो उच्च सम्मान र प्रेम छ । त्यहाँ केही समस्या हुँदा मलाई दुःख लाग्छ । अहिले जे भइरहेको छ, त्यसबाट म दुःखी छु । तर, रोनाल्ड कोम्यान एक उत्कृष्ट प्रशिक्षक हुन् । उनले टिमलाई सम्हाल्नेर अघि बढाउनेमा म आशावादी छु । यदि त्यसो नभए भोलि कोही योग्य व्यक्ति आउनेछ । र, अवस्थालाई सम्हाल्नेछ ।’

प्रकाशित मिति १६ कार्तिक २०७७, आईतवार १७:२३
Loading...