‘रेफ्रीलाई बल प्रहार गर्ने’ मेस्सीमाथि ‘अनुशासनको कारबाही’ गर्न सिफारिस

एजेन्सी, कात्तिक १६
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रमुख खेलाडी तथा कप्तान लिओनल मेस्सीमाथि अनुशासनको कारबाही हुने सम्भावना बढेको छ । हिजो (शनिबार) ला लिगामा अलाभेससँगको खेल दौरान मेस्सीको खराब व्यवहारलाई लिएर ला लिगाले उनीमाथि अनुशासनको कारबाही गर्न सक्नेछ ।

गत राति अलाभेसको घरमा भएको खेलमा बार्सिलोनाले संघर्षपूर्ण १–१ को बराबरी नतिजा निकालेको थियो । खेलमा ०–१ ले परेको स्थितिमा निराश र हतास मेस्सीले खेल खेलाउने रेफ्रीलाई ताकेर बल प्रहार गरेका थिए । त्यो व्यवहारका लागि मेस्सीले त्यसबेला पहेंलो कार्ड मात्रै पाए पनि खेलपछि रेफ्रीले खेलको रिपोर्ट ला लिगालाई बुझाउँदा मेस्सीले खेल अनुशासनबिपरीत कार्य गरेको कारबाहीका लागि सिफारिस गरेको रिपोर्टस्पेनिस मिडियाले छापेका छन् ।

खेलको ३१औं मिनेटमा बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके र गोलकिपर नेटोको गल्तीको फाइदा उठाउँदै अलाभेसका लुइज रिओजाले गोल गरेपछि बार्सिलोना पछि परेको थियो । खेलमा पछि परेपछि चर्को दबाबमा परेको बार्सिलोनाका खेलाडी सबैजसो निराश र हतास मुद्रामा देखिन्थे । सोहीक्रममा खेलको ३९औं मिनेटमा अलाभेसका खेलाडीले बार्सिलोनाका फ्रेन्की डे जोङमाथि फउल गरेकोमा रेफ्रीले कुनै एक्सन नलिएपछि मेस्सीले आक्रोशित बनेर नजिकै आइरहेका रेफ्री अलेक्जान्ड्रो हर्नान्डेज हर्नान्डेजलाई बलले ताकेर प्रहार गरेका थिए ।

तर, मेस्सीको बल प्रहार रेफ्रीले छले । अर्थात्, बलले उनलाई लाग्न पाएन । लगत्तै रेफ्रीले मेस्सीलाई पहेंलो कार्ड देखाए । मेस्सीले खेल अनुशासनबिपरीत रेफ्रीमाथि आक्रमण प्रयास गरे पनि रेफ्रीले त्यसबेला रातो कार्ड देखाएनन् । तर, खेलपछि उनले खेल प्रतिवेदन बुझाउँदा भने मेस्सीले मैदानमा रेफ्रीमाथि ‘अभद्र व्यवहार’ गरेको कुरा उल्लेख गर्दै कारबाहीको माग गरेको ‘मार्सा’ले जनाएको छ ।

यता, स्पेनका अवकासप्राप्त एक रेफ्री आन्डुजार ओलिभरले पनि अलाभेसविरुद्धको खेल दौरान मेस्सीले रेफ्रीमाथि गरेको खराब व्यवहारमा सोझै रातो कार्डको भागीदार हुनुपर्ने बताएका छन् । ‘स्पोर्ट’ पत्रिकासँग उनले भनेका छन्, ‘त्यो मेस्सीको जानाजान खराब व्यवहार थियो । उनलाई त्यत्तिबेलै रातो कार्ड दिएर मैदानबाट निकाल्नुपर्थ्यो । र, थप कारबाहीका लागि सिफारिस गर्नुपर्थ्यो,’ ओलिभरले भनेका छन्, ‘यस्तो व्यवहारमा कसैलाई छुट दिन सकिँदैन । यो गम्भीर अनुशसान उल्लंघन हो । मलाई लाग्छ, लिगले यसमा कारबाहीको निर्णय लिनेछ ।’

पहिलो हाफमा बार्सिलोनाविरुद्ध गोल गरेको अलाभेस खेलको ६२औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । त्यसलगत्तै बार्सिलोनाका लागि एन्टोनी ग्रीजम्यानले गोल गरेर खेल बराबरी बनाएका थिए । तर, १० खेलाडीमा झरेको टोलीविरुद्ध बार्सिलोनाले थप गोल गरेर फाइदा उठाउन नसक्दा निराशाजनक बराबरी नतिजामा चित्त बुझायो । बार्सिलोना हाल ६ खेलपछि मात्रै ८ अंक बनाएर १२औं स्थानमा छ । बार्सिलोनाले पछिल्ला ४ खेलको १२ अंकमध्ये मात्रै २ अंक जोडेर १२ अंक गुमाइसकेको छ ।

प्रकाशित मिति १६ कार्तिक २०७७, आईतवार १४:४७
Loading...