आज युभेन्टस र स्पेजियाको भिडन्त : रोनाल्डो २० दिनपछि मैदान फर्किंदै

काठमाडौं, कात्तिक १६
इटालियन सिरी ए लिग फुटबल प्रतियोगितामा आज एक महत्त्वपूर्ण खेल हुँदैछ, जहाँ साबिक विजेता युभेन्टस आफ्नो छैटौं खेल खेल्दै छ । युभेन्टस यो खेलका लागि यसै सिजन सिरी ए लिगमा बढुवा भएको स्पेजियाको घरेलु मैदानमा उत्रिँदैछ । यो खेल नेपाली समयअनुसार राति ७ः४५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा युभेन्टस ५ खेलपछि ९ अंक बनाएर छैटौं स्थानमा रहेको छ । उसले यसअघि मात्रै २ खेल जितेर ३ खेल बराबरी गरेको छ । युभेन्टसले जितेका २ मध्ये एक खेलमा नापोलीसँग नखेली जितेको ३–० को जित पनि सामेल छ । यो सिजन युभेन्टसले खेलेर जितेको खेल भनेको एक मात्रै हो । युभेन्टससँगको खेलमा सहभागी नभएपछि नापोलीमाथि कारबाहीस्वरूप लिगले युभेन्टसलाई ३–० को जितको नतिजा दिने निर्णय गरेको थियो भने नापोलीले खाताबाट १ अंक कटौती गर्ने निर्णय गरेको थियो ।

युभेन्टसले लिगमा मात्रै ५ खेल सकिँदा ३ खेल बराबरी गरेर ६ अंक गुमाइसकेको छ । उसले पछिल्ला दुई खेल लगातार बराबरीमा सकाएको छ । आज ऊ अवे मैदानमा उत्रिँदा स्पष्ट रूपमा जितको खोजीमा हुनेछ । आज जित्न सके युभेन्टसले अंक तालिकामा आफ्नो स्थिति पनि सुधार गर्नेछ ।

रोनाल्डो २० दिनपछि मैदान फर्किंदै

आज युभेन्टसले स्पेजियाको सामना गर्दा टोलीका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोले पनि कमब्याक गर्दैछन् । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित बनेको २० दिनपछि ३५ वर्षीय रोनाल्डो कोरोनामुक्त बनेर आजको खेलबाट मैदान फर्किने तयारीमा छन् । २ दिनअघि पहिलोपटक उनको कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएको थियो ।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै प्रशिक्षक आन्डे«या पिर्लोले रोनाल्डो स्पेजियाविरुद्धको खेलमा सहभागी हुने बताए । तर, रोनाल्डोले आज बेन्चबाट सुरुआत गर्ने उनले जाकारी दिए । ‘क्रिस्टियानो अब एकदमै ठीक छन् । उनले घरमै प्रशिक्षण गरिरहेका छन् । उनी हाम्रा लागि ज्यादै महत्त्वपूर्ण खेलाडी हुन्,’ पिर्लोले भने, ‘भोलि उनी हामीसँग टोलीमा हुनेछन् । तर, उनले बेन्चबाट सुुरुआत गर्नेछन् ।’

जारी सिजन रोनाल्डोले युभेन्टसका लागि मात्रै २ खेल खेलेका छन् । २ खेलबाट उनले ३ गोल गर्दै १ असिस्ट गरेका छन् । आजको खेलमा गोल गर्दै रोनाल्डो गोल संख्या बढाउने दाउमा हुनेछन् ।

प्रकाशित मिति १६ कार्तिक २०७७, आईतवार १३:४५
Loading...