एथ्लेटिको मड्रिडको प्रभावशाली जित : ह्याट्रिकबाट चुके फेलिक्स

काठमाडौं, कात्तिक १६
पोर्चुगिज युवा फरवार्ड जुआओ फेलिक्सले २ गोल गरेपछि ला लिगा फुटबल प्रतियोगितामा एथ्लेटिको मड्रिडले प्रभावशाली जित निकालेको छ । गत राति भएको लिगको छैटौं खेलमा एथ्लेटिकोले अवे मैदानमा ओसासुनालाई १–३ ले निराश बनायो । एथ्लेटिकोलाई जिताउनेक्रममा फेलिक्सले १ पेनाल्टीसहित २ गोल गरे । उनी १ पेनाल्टीमा चुकेका थिए ।

एथ्लेटिकोका लागि खेलको ४३औं मिनेटमा फेलिक्सले पेनाल्टीमार्फत् पहिलो गोल गरेका थिए । बक्समा ओसासुनाका खेलाडीले एथ्लेटिकोका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा फेलिक्सले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि दोस्रो हाफ सुरु हुनासाथ ४८औं मिनेटमा एथ्लेटिकोले दोस्रो पेनाल्टी पायो ।

बक्समा ओसासुनाका खेलाडीले ह्यान्ड बल गरेपछि रेफ्रीले भिएआरमार्फत् एथ्लेटिकोलाई पेनाल्टी दिएका थिए । तर, फेलिक्सको पेनाल्टी सट पोलमा लागेर फर्किएपछि पाहुना टोलीले अग्रता बढाउन पाएन । त्यसपछि ६९औं मिनेटमा एथ्लेटिकोका लागि फेलिक्सले नै व्यक्तिगत दोस्रो गोल गरे । उनले बक्स लाइनबाट हानेको कडा प्रहारले सोझै जाली चुमेको थियो ।

त्यसपछि ८०औं मिनेटमा ओसासुनाका लागि एन्टे बुदिमिरले गोल गरेर खेल १–२ मा छोट्याएका थिए । तर, ८८औं मिनेटमा एथ्लेटिकोका लागि लुका टोरेरियाले गोल गरेपछि एथ्लेटिकोको १–३ को जित पक्का भयो ।

अब यो जितसँगै एथ्लेटिको अंक तालिकाको तेस्रो स्थानमा चढेको छ । उसले ६ खेलबाट १४ अंक जोडेको छ । ऊ लिग लिडर रियल मड्रिडभन्दा २ अंकले पछि छ । पराजित ओसासुना ७ खेलपछि १० अंक बनाएर नवौं स्थानमा छ ।

प्रकाशित मिति १६ कार्तिक २०७७, आईतवार ०८:०७
Loading...