१० खेलाडीमा सीमित अलाभेससँग बार्सिलोना हारबाट मुस्किलले बच्यो

काठमाडौं, कात्तिक १६
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना लिगको छैटौं खेलमा हारबाट मुस्किलले बचेको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको खेलमा भ्रमणकारी टोली बार्सिलोनालाई अलाभेसले आफ्नो मैदानमा १–१ को बराबरीमा रोकेर झट्का दिएको हो । घरेलु टोली अलाभेस खेलको ६२औं मिनेटमा १० खेलाडीमा झरे पनि बार्सिलोनाले त्यसको पर्याप्त फाइदा उठाउन भने सकेन ।

पूरा खेलभरि नियन्त्रण जमाए पनि बार्सिलोनाले समयैमा गोल निकाल्न नसक्दा कठिन बराबरीमा सीमित हुनुपरेको हो । यदि यो खेल हारेको भए बार्सिलोनाले लगातार तीन खेल हारेर हारमा ह्याट्रिकको खराब रेकर्ड बनाउँथ्यो । तर, फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यानको १ मात्रै गोलको मदतमा बार्सिलोनाले सम्भावित हार पन्छायो ।

अलाभेसले खेलको ३१औं मिनेटमै बार्सिलोनाविरुद्ध गोल गरेको थियो । बार्सिलोनाको रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै अलाभेसले गोल गरेको थियो । बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकले गोलकिपर नेटोलाई ब्याक पास दिएको बल नेटोले चाँडै क्लियर गर्न नसक्दा अलाभेसका लुइस रियोजाले उनको खुट्टाबाट बल खोसेर सहजै गोल गरेपछि बार्सिलोना पछि परेको थियो ।

गोल खाएपछि बार्सिलोनालाई खेलमा फर्किन ६३औं मिनेटसम्म संघर्ष गर्नु परेको थियो । त्यसअघि ६२औं मिनेटमा अलाभेसका खेलाडी जोटा दोहोरो पहेंलोका साथ रातो कार्ड पाएर मैदान छाडेका थिए । लगत्तै अर्को मिनेटमा बार्सिलोनाका ग्रीजम्यानले गोल गरेर टिमलाई १–१ को बराबरीमा फर्काए । ग्रीजम्यानले यो सिजनको पहिलो गोल गरेका हुन् ।

त्यसको केहीबेरपछि नै बार्सिलोनाका लागि लिओनल मेस्सीले गोल गरेका थिए । तर, मेस्सीले अफसाइड पोजिसनमा रहेर गोल गरेकाले सो गोललाई रेफ्रीले मान्यता नदिँदा बार्सिलोना निराश बनेको थियो ।

विजयी गोलका लागि लगातार संघर्ष देखाएको बार्सिलोनाले बाँकी समयमा थप गोल निकाल्न सकेन । र, खेल १–१ मा टुंगियो । यससँगै बार्सिलोनाले पछिल्ला ५ खेलमध्ये एउटा मात्रै खेल जितेको छ । उसले २ खेल हारेको छ भने २ खेल बराबरी गरेको छ । बार्सिलोनाले ४ खेलको कूल १२ अंकमध्ये मात्रै २ अंक जोडेर १० अंक गुमाएको छ ।

अलाभेसविरुद्ध बार्सिलोनाले कूल २५ पटक आक्रमण गर्दा ९ सट सही दिशामा हानेको थियो । उसले ८० प्रतिशत बल आफ्नो पक्षमा राखेको थियो । तर, अलाभेसका गोलकिपरले उत्कृष्ट प्रदर्शनका कारण बार्सिलोनाले विजयी गोल निकाल्न सकेन । गोलकिपर पाचेकोले बार्सिलोनाका ६ खतरनाक प्रहारमा शानदार बचाउ गरेका थिए ।

अलाभेससँग बराबरीमा रोकिएसँगै बार्सिलोनालाई अंक तालिकामा ठूलो झट्का लागेको छ । बार्सिलोना ६ खेलबाट मात्रै ८ अंक जोडेर अंक तालिकाको १२औं स्थानमा छ । अलाभेस ८ खेलबाट ८ अंक नै जोडेर १३औं स्थानमा छ । हालको अवस्थामा बार्सिलोना एक खेल कम खेलेर रियल मड्रिडभन्दा ८ अंकले पछि परेको छ । रियल ७ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति १६ कार्तिक २०७७, आईतवार ०३:३५
Loading...