मेस्सी करिअरको सबैभन्दा ‘खराब’ अवस्थामा : हेरौं तथ्यांक

काठमाडौं, कात्तिक १५
स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सी यो सिजन खराब लयबाट गुज्रिरहेका छन् । ३३ वर्षका मेस्सीले नयाँ सिजन २०२०–२१ सुरु भइकन न विगतजस्तो गोल गर्न सकेका छन्, न त असिस्ट नै । उनको प्रदर्शन अप्रत्यासित रूपमा खस्किँदा बार्सिलोनाको प्रदर्शन र नतिजा पनि उत्तारचढावपूर्ण हुँदै आएको छ ।

मेस्सीले नयाँ सिजन सुरु भइकन देश र क्लबका लागि खेलेको खेल र मैदानमा बिताएको समयको हिसाब गर्ने हो भने उनी ‘गोल स्कोरिङ’मा करिअरको सबैभन्दा खराब अवस्थामा छन् । मेस्सीले पछिल्लोपटक च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टसलाई उसकै घरमा ०–२ ले हराउँदा पेनाल्टीमार्फत् गोल गरेका थिए । त्यसअघि ला लिगामा सिजनको पहिलो इएल क्लासिको भिडन्तमा आफ्नै घरमा रियल मड्रिडसँग १–३ ले हार्दा मेस्सीको प्रदर्शन बिर्सनलायक थियो ।

प्ले मेकर र गोल मेसिन खेलाडी मेस्सीले आफ्नो चमत्कार यो सिजन देखाउन सकेकै छैनन् । उनको प्रदर्शनबाट उनका फ्यानहरूसमेत खुसी छैनन् । यसका पछाडि विविध कारण रहे पनि नयाँ जिनको तथ्यांकले भने मेस्सीको खराब स्थिति चित्रित गर्छ ।

सिजन २०२०–२१ सुरु भइकन मेस्सीले क्लब बार्सिलोना र देश अर्जेन्टिनाका लागि गरी कूल ९ खेल खेलिसक्दा पेनाल्टीबाहेक ओपन एरियाबाट १ गोल पनि गर्न सकेका छैनन् । उनले यो सिजन जति पनि गोल गरेका छन्, सबै पेनाल्टीमार्फत् मात्रै गरेका छन् । उनले कूल ९ खेल खेल्दा मात्रै ४ गोल गरेका छन्, त्यो पनि सबै पेनाल्टीमार्फत् ।

मेस्सीको तथ्यांक हेरौं

अर्जेन्टिनाका लागि– खेल २, गोल १ – पेनाल्टी गोल
बार्सिलोनाका लागि – खेल ७, गोल ३ – सबै पेनाल्टी गोल
देश र क्लबका लागि – जम्मा २ असिस्ट

पछिल्ला १४ खेलमा ओपन एरियाबाट छैन गोल !

मेस्सी यो समयमा यतिसम्म गोलको खडेरीबाट गुज्रिरहेका छन् कि, उनले मैत्रीपूर्ण र अफिसियल गरी पछिल्ला १४ खेलमा एउटा पनि ओपन–प्ले गोल गर्न सकेका छैनन् । जबकि, उनले यस बीचमा कूल १ हजार २ सय ६० मिनेट खेलिसकेका छन् ।

त्यसैगरी, मेस्सीले पछिल्ला १० अफिसियल खेलमा पेनाल्टीबाहेक १ गोल पनि गर्न सकेका छैनन् । उनले यी १० खेलमा कूल ४ गोल गर्दा सबै गोल पेनाल्टीमार्फत् नै गरेका छन् । पछिल्ला १० अफिसियल खेलमा मेस्सीले मैदानमा ९ सय मिनेटभन्दा बढी समय बिताइसकेका छन् । तर, त्यस समयमा उनका नाममा पेनाल्टीबाहेक १ गोल पनि लेखिएको छैन ।

यस्तो छ पछिल्ला १० खेलको तथ्यांक:

भर्सेस बार्यन – ०

भर्सेस भिल्लारियल – १ पेनाल्टी गोल

भर्सेस सेल्टा भिगो – ०

भर्सेस सेभिल्ला – ०

भर्सेस इक्वेडर – १ पेनाल्टी गोल

भर्सेस बोलिभिया – ०

भर्सेस गेटाफे – ०

भर्सेस फेरेन्सभारोस – १ पेनाल्टी गोल

भर्सेस रियल मड्रिड – ०

भर्सेस युभेन्टस – १ पेनाल्टी गोल

अलाभेसविरुद्ध लय समात्ने आशा

बार्सिलोनाले आज (शनिाबार) राति ला लिगामा छैटौं खेल अवे मैदानमा अलाभेससँग खेल्दै छ । बार्सिलोनाले अवे मैदानमा अलाभेसको सामना गर्दा धेरैको ध्यान मेस्सीमाथि हुनेछ । उनी आज यस खेलबाट आफ्नो गोलको खडेरी अन्त् गरेर लय समात्ने दाउमा छन् ।

मेस्सीले आफ्नो १६ वर्षे सिनियर करिअरमा लगातार १० खेलसम्म र ९०० भन्दा बढी मिनेट समय खेलेर एउटा पनि ओपन–प्ले गोल गर्न नसकेको यो नै पहिलोपटक हो । मेस्सीको करिअरमा यति खराब रेकर्ड र गोलको खडेरी यसअघि कहिल्यै पनि आएको थिएन ।

प्रकाशित मिति १५ कार्तिक २०७७, शनिबार १८:३८
Loading...