‘हार्दा रेफ्री र भिएआरलाई दोष दिने’ बार्सिलोनालाई जिदानको कडा जवाफ

एजेन्सी, कात्तिक १५
स्पेनिस फुटबल क्लब रियल मड्रिडका प्रमुख प्रशिक्षक जिनेदिन जिदानले आफ्नो खास प्रतिस्पर्धी क्लब बार्सिलोनाका प्रशिक्षक र खेलाडीलाई जवाफ फर्काएका छन् । रियलले अक्सर ‘रेफ्री र भिएआरको सहयोगमा’ खेलहरू जित्ने गरेको भनेर आरोप लगाउने बार्सिलोनाका कोच र खेलाडीलाई जिदानले ‘हाँस्यास्पद’ भनेका छन् । हारेपछि रेफ्री र खेलको प्रविधिलाई दोष लगाउनु बार्सिलोनाको कामै रहेको उनले बताएका छन् ।

गत साता ला लिगामा सिजनको पहिलो इएल क्लासिकोमा रियलले बार्सिलोनालाई उसकै घरेलु मैदानमा १–३ ले हराएको थियो । सो खेलमा रियलले एक विवादस्पद पेनाल्टी पाएको थियो । खेल १–१ को बराबरीमा रहेका बेला दोस्रो हाफमा सो पेनाल्टी पाएपछि रियलले गोल गरेर खेल आफ्नो पकडमा फर्काएको थियो । रियलले खेलको अन्तिम समयमा अर्को गोल थप्दै खेल १–३ ले जित्यो ।

सो खेलपछि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएम्यानले मिडियासँग कुरा गर्दै क्लासिकोमा रेफ्रीले रियललाई सहयोग पुग्ने गरी पेनाल्टी दिएको र नतिजा प्रभावित पारेको आरोप लगाएका थिए । साथै, उनले आफूहरूले पाउने दुई पेनाल्टीमा रेफ्री र भिएआरले नहेरेको आरोपसमेत लगाएका थिए । कोम्यानले आफूले भिएआरलाई बुझ्न नसकेको भन्दै रेफ्रीले सधैं बार्सिलोनाविरुद्ध भिएआर प्रयोग गर्ने भन्दै आक्रोश पोखेका थिए ।

जिदानले बार्सिलोनाका प्रशिक्षकको सो भनाइको जवाफ दिएका छन् । शनिबार ला लिगामा आफ्नो घरेलु मैदानमा हुएस्कासँग खेल्नुअघि आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै फ्रेन्च म्यानेजरले ‘जित्न नसकेपछि रेफ्री र भिआएरलाई दोष दिनु’ बार्सिलोनाको काम रहेको भन्दै भन्दै आक्रोशपूर्ण जवाफ दिए । साथै, जिदानले आफूले कहिल्यै पनि रेफ्री र भिएआरमाथि प्रश्न नउठाउने गरेको पनि बताए ।

‘पटक–पटक यो प्रश्नको जवाफ दिनुपर्दा मलाई हाँसो लाग्छ । खेल खेलाउने रेफ्री, प्रविधि र पद्धतिको विरुद्धमा म कहिल्यै कुरा गर्दिनँ,’ बार्सिलोनालाई जवाफ फर्काउँदै जिदानले भने, ‘हार्दा रेफ्री र भिएआरलाई दोष दिने काम उनीहरूको हो, यस्ता कुरा गर्न हामीसँग समय छैन ।’

जिदानले बार्सिलोनाप्रति इंगित गर्दै खेलको नियम सबैलाई एउटै हुने र खेल्छु भनेर मैदान उत्रिसकेपछि त्यहाँका नियम सबैले पालना गर्नुपर्ने बताए । ‘तपाईं खेल्न मैदान उत्रिनुहुन्छ भने त्यहाँका सबै नियम पालना गर्नुपर्छ । रियल मड्रिड र बार्सिलोनाका लागि त्यहाँ फरक–फरक नियम छन् भने माफ गर्नुहोला, त्यो मलाई थाहा छैन,’ जिदानले थपे, ‘मैले पहिला पनि भनेको छु, यदि कसैलाई रेफ्री र भिएआरको निर्णयमा शंका लाग्छ भने नियामक निकायकहाँ उजुरी लिएर जान सुझाव दिन्छु ।’

प्रकाशित मिति १५ कार्तिक २०७७, शनिबार १३:०७
Loading...