रोनाल्डोमाथि रोड्रिगोको शानदार टिप्पणी

एजेन्सी, कात्तिक १५
स्पेनिस फुटबल क्लब रियल मड्रिडका युवा स्टार रोड्रिगो गोएसले रियलका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । एक अन्तर्वार्ताक्रममा ब्राजिलियन खेलाडीले हाल इटालियन युभेन्टसबाट खेलिरहेका रोनाल्डोसँग रियल मड्रिडमा सँगै खेल्नु आफ्नो सपना रहे पनि त्यो अधुरै रहेको बताएका छन् । साथै, उनले रोनाल्डो आफ्नो ठूलो आइडल रहेको पनि बताएका छन् ।

रोड्रिडले आफू रियलमा आइपुग्नुभन्दा पहिला नै रोनाल्डोले क्लब छाड्दा आफ्नो सपना पूरा हुन नपाएको बताएका छन् । ‘रियल मड्रिडमा क्रिस्टियानोसँग खेल्नु मेरो सपना थियो । मेरा लागि यो दुर्भाग्यपूर्ण भयो कि, म आउनुभन्दा अघि नै उनले छाडेर गए,’ रोड्रिगोले भने ।

रोड्रिगोले दुनियाँले रोनाल्डोलाई सर्वकालीन् महान् खेलाडीका रूपमा स्वीकार्न सक्दैन भने पनि उनी एक महान् खेलाडी रहेको बताए । ‘यदि उनी सर्वकालीन महान् खेलाडी होइनन् भने पनि एक महान् खेलाडी अवश्य हुन् । फुटबल इतिहासमा उनको स्थान कसैले पनि लिन सक्दैन । किनभने, उनी विशेष छन्,’ रोड्रिगोले भने ।

रोड्रिगोले रोनाल्डोले आधुनिक फुटबलको नयाँ पुस्तालाई प्रेरणा दिइरहेको बताए । ‘यदि म गलत छैन भने उनी समकालीन् फुटबलको नयाँ पुस्ताका लागि ठूला प्रेरणा हुन् । किनभने, सबै युवा खेलाडी उनलाई पछ्याउँछन् र उनीजस्तै बन्न चाहन्छन्,’ रोड्रिगोले थपे, ‘मलाई यसो भन्न कुनै अफसोच छैन कि, म उनको बाटो पछ्याइरहेको छु ।’

प्रकाशित मिति १५ कार्तिक २०७७, शनिबार ११:४४
Loading...