ला लिगा : आज रियल मड्रिड हुएस्कासँग भिड्दै

काठमाडौं, कात्तिक १५
यो सिजन उतारचढावपूर्ण प्रदर्शन गरिरहेको स्पेनिस क्लब रियल मड्रिडले आज घरेलु लिग ला लिगामा सातौं खेल खेल्दैछ । यो खेलका लागि उसले १८औं स्थानको हुएस्कालाई आफ्नो घरेलु मैदानमा स्वागत गर्नेछ । यो खेल रियलको टिम ‘बी’को घरेलु रंगशाला अल्फ्रेडो डि स्टोफानो रंगशालामा नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।

लिगमा ६ सकिँदा ४ खेल जितेको रियल आज पाँचौं जितको खोजीमा हुनेछ । उसले लिगमा पछिल्लो समय इएल क्लासिकोमा बार्सिलोनालाई उसकै घरमा १–३ ले हराएको थियो । हाल अंक तालिकामा रियल १३ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो स्थानमा रियल सोसिडाड १४ अंकसहित रहँदा दोस्रो स्थानमा यसै सिजन ला लिगामा बढुवा भएको क्याडिज १४ अंकसहित रहेको छ । यो सिजनको पहिलो लेगमा क्याडिजले रियललाई उसकै घरमा ०–१ ले हराएको थियो ।

आज आफ्नो घरेलु मैदानमा उत्रिँदा रियल दबाबमा हुनेछ । यसअघि युरोपियन च्याम्पियन्स लिगमा समूह चरणको दोस्रो खेलमा जर्मन क्लब मोन्चेङ्लाडवाकसँग २–२ को निराशाजनक बराबरी खेल्नेक्रममा कमजोर प्रदर्शन गरेको रियल आज हुएस्काविरुद्ध उत्कृष्ट प्रदर्शन फर्काउने दाउमा छ । यदि रियलले आज हुएस्कालाई हराउन सके ऊ १६ अंकसहित लिगको शीर्ष स्थानमा चढ्नेछ ।

रियल आजको खेलमा आफ्ना पहिलो रोजाइका खेलाडीसहित उत्रिनेछ । सार्वजनिक २२ सदस्यीय टोलीमा कप्तान सर्जियो रामोसदेखि मिडफिल्डमा टोनी क्रुस, लुका मोड्रिक, कासेमिरो, फेडे भाल्भर्डे, इस्कोसहितका खेलाडी छन् । यता, फ्रन्ट लाइनमा इडेन हाजार्ड, करिम बेन्जेमा, भिनिसियस जुनियर, मार्को एसेन्सियोसहितका खेलाडी टोलीमा समेटिएका छन् ।

प्रकाशित मिति १५ कार्तिक २०७७, शनिबार ११:२२
Loading...