बार्सिलोनालाई ‘हारमा ह्याट्रिक’को डर : आज अलाभेससँग भिड्दै

काठमाडौं, कात्तिक १५
स्पेनिस ला लिगा फुटबलमा आज बार्सिलोनाले सिजनको छैटौं खेल खेल्दै छ । यो खेलका लागि लिओनल मेस्सीको टिम बार्सिलोना १५औं स्थानको अलाभेसको घरेलु मैदानमा उत्रिँदैछ । यो खेल नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा बार्सिलोना ५ खेलपछि मात्रै ७ अंक बनाएर १२औं स्थानमा छ । अलाभेस समान ७ अंकसहित बार्सिलोनाभन्दा ३ स्थान पछि १५औं स्थानमा छ । यदि आज आफ्नो घरमा अलाभेसले बार्सिलोनालाई हराए उसले अंक तालिकामा बार्सिलोनालाई उछिन्नेछ ।

३ दिनअघि मात्रै युरोपियन च्याम्पियन्स लिगमा समूह चरणको दोस्रो खेलमा इटालियन क्लब युभेन्टसलाई उसकै घरमा ०–२ ले हराएको बार्सिलोना आज अवे लिग खेलमा उत्रिँदा चर्को दबाबमा हुनेछ । किनभने, उले लिगका पछिल्ला दई खेलमा लगातार हार व्यहोरेको छ । पछिल्लो खेलमा ऊ आफ्नै घरमा रियल मड्रिडसँग १–३ ले हारेको थियो भने त्यसअघि अवे मैदानमा गेटाफेसँग १–० ले हारेको थियो ।

आज अलाभेसको घरमा उत्रिँदा बार्सिलोनालाई ‘हारको ह्याट्रिक’को खतरा छ । आज पराजित भए बार्सिलोनाका नाममा हारको कीर्तिमानी ह्याट्रिकको खराब रेकर्ड बन्नेछ । यो खराब रेकर्ड पन्छाउन बार्सिलोनाले आज यो खेल कुनै पनि हालतमै जित्नैपर्ने दबाब छ ।

प्रकाशित मिति १५ कार्तिक २०७७, शनिबार १०:३६
Loading...