‘भिनिसियसलाई बल पास नगर’ भन्ने बेन्जेमाले माफी मागे

एजेन्सी, कात्तिक १५
स्पेनिस क्लब रियल मड्रिडका फ्रेन्च फरवार्ड करिम बेन्जेमाले आफ्ना ब्राजिलियन सहकर्मी भिनिसियस जुनियरसँग माफी मागेका छन् । केही दिनअघि च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको दोस्रो खेलमा जर्मन क्लब मोन्चेङलाड्वासँगको खेल दौरान आफूले गरेको व्यवहारलाई लिएर पछुतो मान्दै बेन्जेमाले भिनिसियससँग क्षमायाचना गरेका हुन् ।

अवे मैदानमा रियलले मोन्चेङ्लाड्वाकसँग २–० ले पछि परेको अवस्थामा अन्तिम समयमा २ गोल गर्दै हारबाट बचेको थियो । सो खेल दौरान बेन्जेमाले भिनिसियसको विषयमा आफ्नै देशका सहकर्मी फोलान् मेन्डीसँग खराब कमेन्ट गरेका थिए । बेन्जेमाले मेन्डीसँग ‘भिनिसियसलाई बल पास नगर्न’ भनेका थिए । बेन्जेमाले खेलमा हाफ समयको विश्राम भएका बेला ड्रेसिङ रुमबाट बाहिर निस्कँदै गर्दा त्यसो भनेका थिए ।

बेन्जेमाले त्यसो भन्दा भिनिसियस पनि सँगै थिए । तर, बेन्जेमाले मेन्डीसँग फ्रेन्च भाषामा बोलेकाले त्यसबेला भिनिसियसले कुरा बुझेनन् । पछि मिडियामार्फत् त्यसबेलाको फुटेज बाहिरिएपछि बेन्जेमाले भिनिसियसको प्रदर्शनमाथि नकारात्मक कमेन्ट गरेको खुलेको थियो । बेन्जेमाले ‘भिनिसियसलाई बल पास नदिन र उनले विपक्षी टिमका लागि खेलिरहेजस्तो व्यवहार देखाएको’ भन्दै मेन्डीसँग आलोचना गरेका थिए ।

बिहीबार रियलका खेलाडी नियमित प्रशिक्षणमा फर्किएपछि बेन्जेमाले सुरुआतमै भिनिसियससँग भेटेर माफी मागेको स्पेनिस मिडियाले जनाएका छन् । टोलीका प्रमुख प्रशिक्षक जिनेदिन जिदान पनि फ्रान्सकै भएकाले उनले टोलीमा खेलाडीबीच सम्बन्ध बिग्रन सक्ने भएकाले बेन्जेमालाई गल्ती महसुस गरेर माफी माग्न भनेपछि बेन्जेमाले भिनियिसससँग माफी मागेको बताइएको छ ।

बेन्जेमाले माफी मागेपछि भिनिसियसले पनि नत्यसलाई स्वीकार गरेका छन् । भिनिसियसले कहिलेकाहीं खेल दौरान सहकर्मीहरूबीचमै गलत बुझाइ रहन सक्ने भन्दै अनावश्यक कुरालाई आफूले महत्त्व नदिने बताएपछि बेन्जेमालाई राहत मिलेको हुनुपर्छ ।

पछिल्लो समय रियलको टोलीमा आक्रमण लाइन मज्जाले जम्न नसक्दा टोलीले पटक–पटक खराब नतिजा भोगिरहेको छ । अहिले रियलको आक्रमण लाइनमा बेन्जेमा र भिनिसियससँगै मार्को एसेन्सियो पहिलो रोजाइमा खेलिरहेका छन् ।

प्रकाशित मिति १५ कार्तिक २०७७, शनिबार ०८:५३
Loading...