क्रिस्टललाई हराउँदै उल्भ्स प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो

काठमाडौं, कात्तिक १५
उल्भ्स इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा चढेको छ । गत राति भएको लिगको सातौं खेलमा उल्भ्सले आफ्नो घरेलु मैदानमा पाहुना टोली क्रिस्टल प्यालेसलाई २–० ले हराउँदै अंक तालिकामा सुधार गर्न सफल भएको हो ।

आफ्नो घरमा उल्भ्सलाई जिताउनेक्रममा खेलको १८औं मिनेटमा रायन आइट नोउरीले पहिलो गोल गरेका थिए । त्यसपछि २७औं मिनेटमै ड्यानिएल पोडेन्सले अर्को गोल थपेपछि पहिलो हाफमा उल्भ्सले २–० को अग्रता बनायो ।

त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल उल्भ्सले २–० ले जित्यो । पाहुना टोली क्रिस्टल खेलको ८६औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । विपक्षी खेलाडीमाथि लुका मिलिभोजेभिचले खराब ट्याकल गरेपछि रेफ्रीले भिएआरमार्फत् सोझै रातो कार्ड दिए मैदानबाट निकालेका थिए ।

अब यो जितसँगै उल्भ्सले ७ खेलबाट १३ अंक बनाएर तेस्रो स्थानमा चढेको छ । उल्भ्सले एक खेल कम खेलेका शीर्ष स्थानको एभर्टन र दोस्रो स्थानको स्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ । पराजित क्रिस्टल भने ७ खेलबाट १० अंक बनाएर नवौं स्थानमा छ ।

प्रकाशित मिति १५ कार्तिक २०७७, शनिबार ०७:४२
Loading...