१७ दिनपछि रोनाल्डोको कोरोना रिपोर्ट ‘नेगेटिभ’ : अब खेल्न पाउने

एजेन्सी, कात्तिक १५
इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएका छन् । आज भएको उनको कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएको हो । क्लब युभेन्टसले यसको अफिसियल पुष्टि समेत गरिसकेको छ ।

रोनाल्डोले कोरोनाबाट संक्रमित भएर १७ दिन आइसोलेसनमा बसेपछि बल्ल उनी कोरोनामुक्त भएका हुन् । रोनाल्डो अन्तर्राष्ट्रिय ड्युटीमा पोर्चुगलमा रहेका बेला कोरोनाबाट संक्रमित भएका थिए । त्यसपछि उनी राष्ट्रिय टोली छाडेर आइसोलेसनमा बस्न इटाली फर्किएका थिए ।

रोनाल्डोले यसअघि कोरोनाकै कारण ४ खेल गुाइसकेका छन् । उनले पोर्चुगलको टोलीमा एकसहित युभेन्टसका ३ खेल गुमाएका छन् । पछिल्लोपटक उनले च्याम्पियन्स लिगमा आफ्नै घरेलु मैदानमा भएको स्पेनिस बार्सिलोनाविरुद्धको खेल गुमाएका थिए । युभेन्टस सो खेलमा ०–२ ले हारेको थियो ।

रोनाल्डोको छैटौंपटक कोरोना जाँच हुँदा रिपोर्ट नेगेटिभ आएको बताइएको छ । उनमा कोरोना संक्रमण देखिए पनि कुनै लक्षण भने देखिएको थिएन । तर, कोरोना प्रोटोकलका कारण उनी आइसोलेसनमै बस्दै आएका थिए ।

यससँगै रोनाल्डोेले सिरी ए लिगमा आइतबार हुने स्पेजियाविरुद्धको खेल खेल्ने पाउनेछन् । उनले शनिबारबाट टोलीसँगै प्रशिक्षण थाल्नेछन् । रोनाल्डोले यो सिजन युभेन्टसका लागि २ खेलबाट ३ गोल गर्दै १ गोलमा असिस्ट गरेका छन् ।

प्रकाशित मिति १४ कार्तिक २०७७, शुक्रबार २३:१५
Loading...