कोम्यानको कार्यकालमा बार्सिलोनाले बिर्सिंदै एक ‘गोल्डेन ब्वाई’

एजेन्सी, कात्तिक १५
जतिबेला स्पेनिस क्लब बार्सिलोनाको प्रमुख प्रशिक्षकमा डच म्यानेजर रोनाल्ड कोम्यान आए, उनले केही महत्त्वपूर्ण निर्णय गरे । लुइस स्वारेजलाई बिदा गर्नेदेखि लिएर केही नयाँ खेलाडी अनुबन्धमा कोम्यानको निर्णय थियो । यीबाहेक कोम्यानले चाहेको एक निर्णय हुन पाएन । त्यो के भने, उनी युवा मिफिल्डर रिकी पुचलाई बेच्न वा लोनमा बाहिर पठाउन चाहन्थे ।

२१ वर्षीय स्पेनिस खेलाडी आफ्नो योजनामा खेल्न समय नपाउने भन्दै कोम्याने पुचलाई नयाँ क्लबका खोजी गर्न भनेका थिए । तर, फ्यानहरूको चर्को विरोध र आलोचनापछि पछि कोम्यानले आफ्नो भनाइ सुधारे । र, आवश्यकताअनुसार उनलाई आफूले समय दिने बताए ।

त्यसपछि नयाँ सिजन सुरु भयो । तर, पुचले टोलीमा समय नपाउने समय पनि सँगै सुरु भइहाल्यो । अघिल्ला प्रशिक्षकहरूको पालामा राम्रो समय पाउँदै आएका उनले यो सिजन बार्सिलोनाले कूल ७ खेसिक्दा मात्रै १ खेलमा समय पाएका छन् । उनले पछिल्लोटक अक्टोबर १८ तारिखमा ला लिगामा गेटाफेविरुद्ध खेलेका थिए । सो खेलमा उनलाई ८७औं मिनेटमा मैदान छिराइएको थियो ।

पुचले यो सिजन खेलेको एक मात्रै खेलमा निर्धारित ९० मिनेटको ३ मिनेट र थप ८ मिनेट गरी कूल ११ मिनेट मात्रै खेलेका छन् । उनीजस्ता एक प्रतिभावान् युवा खेलाडीका लागि यो निकै दुःखलाग्दो अवस्था हो । किनभने, पुच बार्सिलोनामा युवा खेलाडीमध्ये अघिल्ला प्रशिक्षकहरूले रुचाएका खेलाडीमा पर्छन् । त्यसो त उनलाई बार्सिलोनामा ‘गोल्डेन ब्वाई’ भनेर पनि चिनिन्छ ।

तर, मिडफिल्डमा निकै राम्रो प्रभाव जमाउने पुचलाई डच म्यानेजरले लगातार ‘बेवास्ता’ गर्दै आउँदा पुच पनि निराश छन् । उनले सामान्य रूपमा थोरै समय पनि खेल्न नपाउनु राम्रो होइन । नयाँ सिजनमा टिमले ७ खेल खेलिसक्दा मात्रै एक खेलमा ८७ मिनेटमा मैदान छर्न मात्रै योग्य खेलाडी हुँदै हुँदै होइनन् । तर, कोम्यानले आफ्नो कार्यकालमा उनलाई लगातार यही अवस्थाबाट अघि बढाउने स्पष्ट देखिएको छ ।

पुचले गत सिजन २०१९–२० भरिमा बार्सिलोनाका लागि कूल १२ खेल खेलेका थिए । जसमा उनले ला लिगामा ११ खेल खेलेका थिए भने १ खेल कोपा डेल रे कपमा खेलेका थिए । उनले सिजन २०१८–१९ मा तात्कालीन प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको पालमा सिनियर टोलीमा डेब्यु गरेका थिए । भाल्भर्डेले आफ्नो कार्यकालमा ला मासियाका थुप्रै खेलाडीलई सिनियर टोलीमा डेब्यु गराएर प्रशंसनीय कार्य गरेका थिए । यस विषयमा भाल्भर्डेको अहिले पनि तारिफ हुने गरेको छ ।

फेरि टोलीमा छुटाइयो, कोम्यानको अर्थपूर्ण भनाइ !

बार्सिलोनाले भोलि (शनिबार) ला लिगाको छटौं खेल अवे मैदानमा अलाभेससँग खेल्दै छ । सो खेलका लागि कोम्यानले घोषणा गरेको २१ सदस्यीय टोलीमा पुचलाई राखिएको छैन । शारीरिक रूपमा फिट हुँदाहुँदै टोलीमै नपरेको भन्दै समर्थकहरूले कोम्यानको निर्णयको चर्को आलोचना सुरु गरिसकेका छन् ।

यता, कोम्यानले खेलअघि अयाोजित पत्रकार सम्मेलनमा कुरा गर्दै पुचको बारेमा अर्थपूर्ण भनाइ राखे । पुच टोलीमै नपरेपछि पत्रकारले कोम्यानसँग यस विषयमा सोधेका थिए । जसमा कोम्यानले आफूले राम्रा खेलाडीलाई प्राथमिकतामा राख्ने र २१ सदस्यीय टोलीमा खेल्नका लागि समय पाउने सम्भावित खेलाडीलाई मात्रै समेटिने भन्दै सांकेतिक रूपमा आफ्नो पालामा पुच प्राथमिकतामा नपर्ने बताए ।

कोम्यानले पुच टोलीमा नपर्नु प्राविधिक निर्णय रहेको बताए । ‘रिकी पुच टोलीमा नपर्नु प्राविधिक निर्णय हो । कतिपय खेलमा हामीले टोलीमा २३ खेलाडी राख्ने गर्छौं । तर, मेरा लागि २३ खेलाडी धेरै हुन् । म राम्रोसँग प्रशिक्षण गरेका र खेल्नका लागि समय पाउन सक्ने खेलाडीलाई मात्रै टोलीमा समावेश गर्न चाहन्छु । यो खेलमा पुचलाई टोलीमा राख्नु मैले आवश्यक ठानिनँ । खेल्न नपाउने खेलाडीले टोलीमा रहेर भ्रमण गर्नुभन्दा यहीं रहेर प्रशिक्षण गर्नु राम्रो हो,’ कोम्यानले भने ।

भविष्यमा पुचले कस्तो भूमिका र कति समय पाउँछन् भनेर सोधिएको प्रश्नमा कोम्यानले भने, ‘पुचप्रति मेरो खास योजना छैन । उनी टोलीका सदस्य हुन् । यसकारण अन्य खेलाडीले झैं उनले पनि आवश्यक परेका बेला समय पाउनेछन् । उनीसँग क्षमता छ । तर, सबै खेलाडीलाई समान ढंगले समय दिन सकिँदैन,’ कोम्यानले भने ।

प्रकाशित मिति १४ कार्तिक २०७७, शुक्रबार २०:०८
Loading...