रियल मड्रिड च्याम्पियन्स लिगको समूह चरणबाटै आउट हुने खतरा : यस्तो छ अंकगणित

काठमाडौं, कात्तिक १४
‘च्याम्पियन्स लिगको राजा’ भनेर चिनिने स्पेनिस क्लब रिययल मड्रिड यसपटक प्रतियोगिताको अन्तिम ३२ बाटै आउट हुने खतरा बढेको छ । समूह चरणअन्तर्गतका दुई खेलमा एक खेल पनि जित्न नसक्दा रियलको अगाडिको यात्रा झन् कठिन बनेको हो । यदि अबका बाँकी खेलमा राम्रो नतिजा निकाल्न नसके यसपटक रियलको दुखद् बिदाइ हुनेछ ।

रियलले समूह चरणको पहिलो खेलमा युक्रेनको क्लब शाख्तर डोनेट्स्कसँग आफ्नै घरेलु मैदानमा ०–१ ले हारेको थियो । त्यसछि दोस्रो खेल खेल्न जर्मन क्लब मोनचेङ्लाडवाकको घरेलु मैदानमा पुगेको रियल अप्रत्यासित हारको मुखमा पुगेर २–२ को बराबरी बनाउँदै हारबाट बच्न सफल भयो । रियलले सुरुआतका २ खेलबाट ५ अंक गुमाइसकेको छ ।

जिनेदिन जिदानको टोली रियल हाल समूह ‘बी’मा मात्रै १ अंक बनाएर सबैभन्दा पुछारमा रहेको छ । युक्रेनको क्लब शाख्तर ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । रियलले अब अन्तिम ४ खेल खेल्न बाँकी छ ।

रियललाई अन्तिम १६ मा जान अब बाँकी खेलमा ठूलै संघर्ष गर्नुपर्ने भएको छ । यदि रियलले अबका बाँकी खेलहरूमा सुखद् नतिजा निकाल्न नसके ऊ खराब स्थितिबाट आउट हुने जोखिम नजिकै छ । अन्तिम १६ मा स्थान बनाउन रियलले आफ्नै खेल र नतिजाका आधारमा अघि बढ्ने भए अब बाँकी ४ खेलको कूल १२ अंकमध्ये १० अंक जोड्नैपर्छ । उसले ३ खेल जितेर एक खेल बराबरी गरे पुग्छ ।

यदि अन्य टोलीको नतिजामा भर पर्ने स्थितिमा भने रियलले बाँकी ४ मध्ये ३ खेल जिते पनि पुग्नेछ । तर, त्यसका लागि अन्य टोलीले पनि आफ्नो खेल वा अंक गुमाउनुपर्छ । यदि मोन्चेङ्लाडवाकसँग रियल पराजित भएको थियो भने लगातार दुई हारपछि उसको अन्तिम १६ को यात्रा अझै संकटमा पर्नेथियो । त्यो स्थितिमा उसलाई अन्तिम १६ मा जान बाँकी ४ खेलमा सबै खेल जित्नुपर्ने दबाब रहन्थ्यो । तर, बराबरी गरेर १ अंक जोडेकोले उसको सम्भावना अझै छ ।

रियलले अब इालियन क्लब इन्टर मिलानसँग होम र अवे गरी दुवै खेल खेल्न बाँकी छ भने शाख्तर र मोनचेङ्लाडवाकसँग दोस्रो लेगको खेल खेल्न बाँकी छ । यो स्थितिमा यदि रियलले अबका बाँकी सबै खेल जिते ऊ अझै पनि आफ्नो समूहबाट विजेता बनेर अर्को चरण जाने ढोका खुलै छ । तर, त्यसका लागि रियल नहारी अघि बढ्नुपर्छ ।

रियलले सन् २०१६, २०१७ र २०१८ मा च्याम्पियन्स लिग जितेर ह्याट्रिक गरेयता ऊ लगातार दुई सिजन अन्तिम १६ बाटै आउट भएको छ । २०१९ मा रियल डच क्लब आयाक्ससँग पराजित भएर आउट भयो भने गत सिजन इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग अन्तिम १६ मा दुवै लेग हारेर आउट भएको थियो । रियल यसपटक उपाधि जित्ने होडमा रहेको टोली हो । तर, उसको सुरुआत भने निकै खराब हुँदै अन्तिम ३२ बाटै बाहिरिन सक्ने खतरा बढेको छ ।

यस्तो छ हालको अंक तालिका :

प्रकाशित मिति १४ कार्तिक २०७७, शुक्रबार १४:१०
Loading...