मेस्सीका नाममा बन्यो फुटबल इतिहासकै दुर्लभ रेकर्ड

काठमाडौं, कात्तिक १४
स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका सुपरस्टार लिओनल मेस्सीका नाममा दुर्लभ रेकर्ड बनेको छ । मेस्सी अब फुटबल इतिहासकै सबैभन्दा धेरै ३०० असिस्ट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । ३४ वर्षीय मेस्सीका नाममा रहेको यो फुटबल इतिहासकै दुर्लभ रेकर्ड हो । यो क्लब र देश दुवै टोलीका मिश्रित तथ्यांक हो ।

मेस्सीले पछिल्लो समय युरोपियन च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टसविरुद्ध खेल्नेक्रममा असिस्ट गरेका थिए । युभेन्टसलाई ०–२ ले हराएको बार्सिलोनाका लागि उसामान डेम्बेले र मेस्सी आफैंले १ गोल गरेका थिए । मेस्सीले खेलको १४औं मिनेटमा डेम्बेलको गोलमा पास मिलाएका थिए ।

डेम्बेलेलाई दिएको सिजनको दोस्रो असिस्ट मेस्सीका लागि करिअरको ३००औं असिस्ट थियो । नयाँ सिजन २०२०–२१ सुरु भइकन उनले हालसम्म देश र क्लबका लागि गरी कूल ९ खेलबाट ४ गोल गर्दै २ गोलमा असिस्ट गरेका छन् । गत सिजनको अन्त्यसँगै मेस्सीका नाममा कूल २९८ असिस्ट संख्या पुगेको थियो ।

मेस्सीले बार्सिलोना र अर्जेन्टिनाका लागि गरी हालसम्म सिनियर टोलीका लागि ८७८ खेल खेल्दै ७०८ गोल गरेका छन् । सोक्रममा उनले कूल ३०० असिस्ट पूरा गरेका छन् ।

प्रकाशित मिति १४ कार्तिक २०७७, शुक्रबार १२:४४
Loading...