युरोपा लिगमा आर्सनल शानदार विजयी : नापोलीको पहिलो जित

काठमाडौं, कात्तिक १४
युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले प्रभावशाली जित निकालेको छ । गत राति भएको समूह चरणको दोस्रो खेलमा आर्सनलले आफ्नो घरेलु मैदानमा डनडल्कलाई ३–० को अन्तरमा पराजित गरेको हो । यता, इटालियन क्लब नापोलीले पहिलो जित दर्ता गरेको छ ।

आफ्नो घरमा आर्सनललाई जिताउनेक्रममा खेलको ४२औं मिनेटमा इडे केटिहाले पहिलो गोल गरेका थिए । त्यसको २ मिनेटमै जोए विललकले गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–० को अग्रता बनायो । त्यसछि आर्सनलले दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै गोल हान्यो । सो खेल निकोलस पेपेले गरेका थिए ।

तेस्रो गोल भएपछि बाँकी समयभरि नै खेलमा दुवै तर्फबाट गोल नभएपछि खेल आर्सनलले ३–० ले जित्यो । यो जितपछि आर्सनले सुरआती दुवै खेल जितेर ६ अंकसहित समूह ‘बी’को शीर्ष स्थानमा छ । मोड्ले पनि समान ६ अंकसहित दोस्रो स्थानमा छ ।

यता, गत राति नै भएको अर्को खेलमा नापोलीले स्पेनिस क्लब रियल सोसिडाडालाई उसकै घरमा हराएर पहिलो जित निकालेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा नापोलीलाई जिताउन खेलको ५५औं मिनेटमा माटेओ पोलिटानोले गरेको १ मात्रै गोल पर्याप्त बन्यो । नापोली खेलको थप समयमा १० खेलाडीमा झरेको थियो ।

अब यो जितपछि नापोली सुरुआती दुई खेलमा एक खेल जितेर ३ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानमा ६ अंक भएको एजेट अल्कामार रहेको छ । सोसिडाड पनि ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति १४ कार्तिक २०७७, शुक्रबार ०७:११
Loading...