युरोपा लिगमा टोटनह्यामको नमिठो हार : एसी मिलानको शानदार जित

काठमाडौं, कात्तिक १४
युरोपा लिग फुटबलमा इंग्लिस क्लब टोटनह्यामले नमिठो पराजय भोगेको छ । समूह ‘जे’अन्तर्गत गत राति भएको दोस्रो खेलमा टोटनह्यामलाई बेल्जियमको क्लब रोएल एन्वेर्पले १–० अन्तरले निराश बनायो ।

अवे मैदानमा टोटनह्यामले पहिलो रोजाइका खेलाडीसहितको सेट उतारे पनि गोलविहीन बन्नुपर्दा हार भोगेको हो । सुरुआती टोलीमा फ्रन्ट लाइनमा डेले अली र ग्यारेथ बेलसहितका खेलाडी लिएर उत्रिए पनि टोटनह्यामले गोल निकाल्न सकेन । पछि जोसे मोउरिन्होले ह्यारी केन र सन हेङ मिनलाई समेत मैदान उतारे ।

तर, गोल खाएपछि कमब्याक गर्न नसक्दा टोटनह्याम स्तब्ध बन्यो । घरेलु टोली रोयलका लागि खेलको २९औं मिनेटमा लोइर राफाएलोभले गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । अन्ततः त्यही गोल नै घरेलु टोलीलाई जिताउन काफी बन्यो ।

अब यो जितपछि रोयल आफ्नो समूहमा दुई खेलमा दुवै खेल जितर ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित टोटनह्याम एकमा जित र एकमा बराबरीसहित ३ अंक बनाएर दोस्रो स्थानमा छ । समान ३ अंक नै भएको लास्ट तेस्रो स्थानमा छ ।

यता, गत राति नै भएको अर्को खेलमा इटालियन क्लब एसी मिलानले शानदार जित निकालेको छ । मिलानले आफ्नो घरेलु मैदानमा स्पार्टा प्राग्वेमाथि ३–० को जित निकालेको हो । आफ्नो घरमा मिलानलाई जिताउन रियल मड्रिडबाट लोनमा गएका युवा खेलाडी ब्राहिम डियाजले खेलको २४औं मिनेटमा पहिलो गोल गरेका थिए ।

मिलानले शानदार जितेको खेलमा भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले पेनाल्टी मिस गरेका थिए । खेलको ३६औं मिनेटमा विपक्षी खेलाडीले बक्समा फउल गरेपछि पाएको पेनाल्टीमा ज्लाटनले हानेको कडा प्रहार बारमा लागेर बाहिरिएपछि उनी निराश बनेका थिए ।

त्यसपछि खेलको ५७औं मिनेटमा राफाएल लियाओले गोल गरे भने ६६औं मिनेटमा डिओगो डालोटले गोल गरेर टिमलाई ३–० को जित दिलाए । अब यो जितपछि मिलान सुरुआती दुवै खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ । फ्रेन्च क्लब लिले ४ अंक बनाएर दोस्रो स्थानमा छ । मिलानसँग पराजित प्राराग्वे अंकविहीन बनेर पुछारमा रहेको छ ।

प्रकाशित मिति १४ कार्तिक २०७७, शुक्रबार ०६:४२
Loading...