‘मेस्सीविरुद्ध खेल्न नपाएपछि’ रोनाल्डोले यसरी पोखे आक्रोश

एजेन्सी, कात्तिक १३
सिजनकै एक महत्त्वपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाविरुद्ध खेल्न नपाएपछि इटालियन क्लब युभेन्टसका खेलाडी क्रिस्टियानो रोनाल्डोले आक्रोश पोखेका छन् । गत राति च्याम्पियन्स लिगको समूह चरणको दोस्रो खेलमा बार्सिलोना युभेन्टसको घरमा उत्रिँदा ०–२ ले जितेको थियो । समूह चरणकै सबैभन्दा प्रतीक्षित खेलमा बार्सिलोनाका लिओनल मेस्सी र युभेन्टसका रोनाल्डो एकअर्काविरुद्ध भिड्ने अपेक्षा गरिएकोमा कोरोना भाइरसबाट संक्रमित बनेपछि रोनाल्डोले सो खेल्न पाएनन् । उनलाई टोलीमै राखिएको थिएन ।

सो खेललाई रोनाल्डो र मेस्सीको आपसी प्रतिस्पर्धाका रूपमा पनि हेरिएको थियो । तर, पटक–पटक कोरोना जाँचको रिपोर्ट पोजेटिभ आएपछि रोनाल्डोले आफ्नै घरेलु मैदानमा आफ्ना खास प्रतिस्पर्धी मेस्सीविरुद्ध खेल्न पाएनन् । बार्सिलोनाले युभेन्टसलाई उसकै घरमा हराउनेक्रममा उसमान डेम्बेलेले १ गोल गर्दा मेस्सीले पेनाल्टीमार्फत् १ गोल गरेका थिए ।

च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध खेल्न नपाएपछि पोर्चुगिज खेलाडी रोनाल्डोले भने आक्रोश पोखे । उनले सामाजिक सन्जालमार्फत् एक तस्बिरसहित पोस्ट गर्दै पिसिआर जाँचप्रति सांकेतिक रूपमा खनिएका थिए । उनले पिसिआर रिपोर्ट जस्तो आए पनि आफू पूर्ण रूपमा स्वस्थ रहँदा रहँदै पनि खेल्न नपाएको गुनासो गरेका छन् । रोनाल्डोले घुमाउरो शैलीमा पिसिआर जाँचको नतिजामाथि नै शंका गरेका छन् ।

‘पिसिआर रिपोर्ट अझै किन पोजेटिभ आइरहेको छ, मलाई थाहा छैन । जब कि, म आफू एकदमै स्वस्थ र ठीकठाक छु । म हरेक दिन दैनिक प्रशिक्षण र व्यायाम पनि गरिरहेको छु । र, हरेक खेल खेल्न तयार छु,’ रोनाल्डोले लेखेका थिए ।

तर, रोनाल्डोले पिसिआर जाँच रिपोर्टप्रति सांकेतिक रूपमा खनिएर गरेको पोस्ट केही समयपछि इन्स्टाग्रामबाट हटाएका थिए । उनको पोस्ट विवादित बन्ने भएपछि रोनाल्डोले पछि सो पोस्ट हटाएका थिए ।

युभेन्टस अब दोस्रो लेगको खेल खेल्न डिसेम्बर ८ तारिखमा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा जानेछ । रोनाल्डोले सो खेल खेल्नेछन् । रोनाल्डोले हालसम्म विभिन्न प्रतियोगितामा मेस्सीको टिमविरुद्ध कूल १८ गोल गरेर ९ गोलमा असिस्ट गरेका छन् । उनी बार्सिलोनाविरुद्ध सबैभन्दा कम खेल र थोरै समय खेलेर सबैभन्दा बढी गोल गर्ने कीर्तिमानी खेलाडी हुन् ।

मेस्सीले रियल मड्रिडविरुद्ध हालसम्म कूल २६ गोल गरेका छन् । तर, मेस्सीले रोनाल्डोभन्दा धेरै खेल खेलेका छन् । रोनाल्डोले सन् २०१८ मा रियल छाडेपछि मेस्सीले रियलविरुद्ध ६ खेल खेलिसक्दा पनि गोल र असिस्ट दुवै गर्न सकेका छैनन् ।

प्रकाशित मिति १३ कार्तिक २०७७, बिहीबार १८:२३
Loading...