लिजेन्ड रिभाल्डोले खुलाए बार्सिलोनाले ‘च्याम्पियन्स लिग जित्न नसक्ने’ कारणहरू

एजेन्सी, कात्तिक १३
स्पेनिस फुटबल क्लब बार्सिलोनाले युरोपियन च्याम्पियन्स लि फुटबलको जारी सिजन समूह चरणका सुरुआती दुवै खेल सहज तरिकाले जितेको छ । ऊ शतप्रशित नतिजासहित आफ्नो समूहको शीर्ष स्थानमा छ । गत राति उसले दोस्रो खेलमा इटालियन क्लब युभेन्टसलाई उसकै घरेलु मैदानमा ०–२ ले हरायो । यो जितसँगै बार्सिलोना अर्को चरण प्रवेशको नजिक पुगिसकेको छ ।

गत राति टुरिनमा खेल्दा बार्सिलोनाले सन्तोषजनक प्रदर्शन गरेको थियो । बार्सिलोनालाई जिताउन उसामान डेम्बेलेले एक रकेट सटमा सुन्दर गोल गरे भने कप्तान लिओनल मेस्सीले पेनाल्टीमार्फत् १ गोल गरे । मेस्सीले यो सिजन बार्सिलोनाका लागि ७ खेलबाट ३ गोल मात्रै गरेका छन्, त्यो पनि सबै पेनाल्टीमार्फत् ।

यसैबीच, ब्राजिल तथा बार्सिलोनाका लिजेन्ड खेलाडी रिभाल्डोले भने यो बताएका छन् कि, बार्सिलोनाले यसपटक पनि च्याम्पियन्स लिग जित्ने सम्भावना छैन । बार्सिलोनाको प्रदर्शन झन् खस्किँदै गएको बताउँदै उनले बार्सिलोनाका खेलाडीमा च्याम्पियन्स लिग जित्ने दृढता र आत्मविशवस नरहेको बताए ।

‘यो सिजनको बाटो धेरै लामो छ । तर, धेरै परसम्म हेर्दा पनि बार्सिलोनाले च्याम्यिन्स लिग जित्ने सम्भावना मैले देखेको छैन । बार्सिलोनाको पुरानो स्तर हराइसकेको छ । नढाँटी भन्दा यो टिममा म ठूला खेल र उपाधि जित्ने आत्मविश्वास नै देख्दिनँ, जुन आवश्यक पर्छ । उनीहरूले च्याम्पियन्स लिग जित्नका लागि संघर्ष देखाउन सकेका छैनन्, न त उनीहरू मानसिक रूपमै तयार छन्,’ रिभाल्डोले भने ।

रिभाल्डोले बार्सिलोना यसपटक ला लिगाका लागि मुख्य संघर्ष गर्ने पनि बताए । ‘मलाई लाग्छ, बार्सिलोनाले यसपटक ला लिगा उपाधिका लागि रियल मड्रिड र एथ्लेटिको मड्रिडसँग संघर्ष गर्नेछ । म त ला लिगा उनीहरूले जित्ने सम्भावना पनि कम देख्छु । युरोपियन उपाधि जित्न बार्सिलोनाले सोच्न सक्छ तर पूरा गर्न सक्दैन,’ रिभाल्डोले भने ।

रिभाल्डोले युभेन्टसमा पोर्चुगिज खेलाडी रोनाल्डो नभएकाले बार्सिलोनाले युभेन्टसलाई हराएको पनि बताए । ‘म फेरि लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकअर्काविरुद्ध खेलेको हेर्न चाहन्थें, जुन अहिलेलाई पूरा भएन,’ रिभाल्डोले भने, ‘आजको खेलमा मेरो पुरानो क्लबविरुद्ध खेल्न रोनाल्डो टोलीमा नहुनु बार्सिलोनाका लागि खतरामुक्त थियो । यदि उनी खेलेका थिए भने बार्सिलोनाले यो खेल जित्न सक्दैनथियो ।’

रोनाल्डो बार्सिलोनाविरुद्ध कसरी खेल्ने र कस्तो रणनीतिमा विपक्षीलाई फसाउन सकिन्छ भन्नेमा माहिर रहेको बताए । ‘रोनाल्डोसँग स्पेनिस फुटबलको बारेमा धरै ज्ञान छ । खास गरी ठूला टोलीविरुद्ध उनको जबर्जस्त र बुद्धिमानीपूर्ण रनणीति हुन्छ, जुन टिमलाई आवश्य पनि पर्छन । यस्ता खेलमा उनी विपक्षी टिमलाई फसाउन माहिर छन् । उनले विगतमा थोरै खेलबाट पनि बार्सिलोनाविरुद्ध प्रशस्तै गोल गरेका छन् । जब उनी आफ्नो टिममा हुन्छन्, अन्य खेलाडीको समेत मनोबल उच्च हुन्छ । मेरो दृष्टिमा उनी सबैभन्दा प्रभावशाली नेता खेलाडी हुन् ।’

रिभाल्डोले युभेन्टसविरुद्ध बार्सिलोनाको प्रदर्शन सामान्य मात्रै रहेको बताए । ‘उनीहरूले यो खेल ०–२ ले जिते । तर, खेलको स्तर सामान्य मात्रै थियो । म यो खेलबाट खुसी हुनुपर्ने ठाउँ देख्दिनँ । किनभने, यो स्तरको खेलले उनीहरूले एक–दुई खेल जित्न सक्छन् तर उपाधि जित्न सक्दैनन्,’ रिभाल्डोले भने, ‘म मेस्सीलाई सधैं उत्कृष्ट मान्छु । तर, यतिबेला मान्न सक्दिनँ । उनी मैदानमा थकित र निराश देखिन्छन् । उनमा पुरानो स्तर छैन । यो बार्सिलोनाका लागि ठूलो क्षति हुनेछ ।’

प्रकाशित मिति १३ कार्तिक २०७७, बिहीबार १५:५३
Loading...