छाडेन चोटले : फेरि घाइते भए नेइमार

काठमाडौं, कात्तिक १३
फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार फरवार्ड नेइमार पुनः घाइते भएका छन् । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गत राति समूह चरणको दोस्रो खेलमा टर्किस क्लब इस्तानबुल बासाकसेहिरविरुद्ध खेल्नेक्रममा नेइमार घाइते भएका हुन् ।

नेइमार पहिलो हाफको २६औं मिनेटमै चोट बोकेर मैदान छाडेका थिए । मांशपेसीमा चोट बोकेपछि खेल्न नसकेर उनले मैदान छाडेका हुन् । उनको स्थानमा पाब्लो सराबिया मैदान छिरेका थिए ।

अवे मैदानमा पिएसजीले सो खेल ०–२ ले जितेको थियो । पिएसजीको जितमा २ वटै गोल नयाँ युवा खेलाडी मोइसे किनले गरेका थिए । उनका २ वटै गोलमा केलियन एमबाप्पेले नै असिस्ट गरेका थिए ।

क्लब पिसजीले नेइमारको चोटको अवस्थाको पूर्ण जानकारी दिएको छैन । उनको चेकजाँच चलिरहेको छ । सामान्यतः नेइमारको जस्तो केसमा खेलाडीलाई पूर्ण रूपमा ठीक हुन एक महिनासम्म लाग्न सक्छ । नेइमारले च्याम्पियन्स लिगमा पछिल्ला ५ खेलमा १ गोल पनि गर्न सकेका छैनन् ।

प्रकाशित मिति १३ कार्तिक २०७७, बिहीबार १४:०८
Loading...