म्यानचेस्टर युनाइटेडको फराकिलो जितमा रासफोर्डको ह्याट्रिक

काठमाडौं, कात्तिक १३
युवा स्टार मार्कुस रासफोर्डले उत्कृष्ट ह्याट्रिक गोल गरेपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपियन च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ । गत राति भएको समूह चरणको दोस्रो खेलमा युनाइटेडले जर्मन क्लब आरबी लेइपजिगलाई ५–० ले निराश बनायो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जिताउनेक्रमा रासफोर्डले ह्याट्रिक गर्दा युवा स्टार मासोन ग्रीनउड र एन्थोनी मार्सियालले १–१ गोल गरे । युनाइटेडका लागि खेलको २१औं मिनेटमा ग्रीनउडले पहिलो गोल गरेका थिए । त्यपछिका ४ गोल सबै खेलको ७३ मिनेटपछि भएका हुन् ।

७४औं मिनेटमा रासफोर्डले व्यक्तिगत पहिलो गोल गरे । त्यसको ४ मिनेटमै दोस्रो गोल गरेपछि युनाइटेड ३–० ले सहज स्थितिमा पुग्यो । त्यसपछि ८७औं मिनेटमा पेनाल्टीमार्फत् एन्थोनी मार्सियालले गोल गरे भने थपिएको समयको दोस्रो मिनेटमा रासफोर्डले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

अब यो जितपछि युनाइटेडले सुरुआतका २ खेलमा दुवै खेल जितेर ६ अंक जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा छ । फ्रेन्च क्लब पिएसजी र लेइपजिग समान ३–३ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति १३ कार्तिक २०७७, बिहीबार ०९:२६
Loading...