बार्सिलोनाले १० खेलाडीमा सीमित युभेन्टसलाई उसकै घरमा हरायो

काठमाडौं, कात्तिक १३
युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई हराएको छ । नेपाली समयअनुसार बिहीबार बिहान भएको समूह चरणको दोस्रो खेलमा युभेन्टस आफ्नै घरेलु मैदानमा पाहुना टोली बार्सिलोनासँग ०–२ ले स्तब्ध बनेको हो ।

टोलीका प्रमुख खेलाडी त्रिस्टियानो रोनाल्डोबिनै उत्रिएको युभेन्टसले घरेलु मैदानमा गोल गर्न सकेन । तर, उसका ३ गोललाई भिएआरले मान्यता नदिँदा बार्सिलोनालाई फाइदा पुगेको थियो । ३ वटै गोल अल्भारो मोराटाले गरेका थिए । तर, सबै गोल रद्ध भए । यता, युभेन्टस खेलको ८५औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । डिफेन्डर मेरिह डेमिराल रातो कार्ड खाएर मैदान छाडेका थिए ।

आफ्नो घरमा युभेन्टसले पटक–पटक गोलका अवसर सिर्जना गरे पनि मान्य गोल गोल गर्न सकेन । युवा खेलाडीले फ्रन्ट लाइन सम्हाले पनि युभेन्टस गोलको अभावबाट गुज्रिँदा च्याम्पियन्स लिगका दोस्रो खेलमै हार भोग्न बाध्य भयो भने नयाँ प्रशिक्षक पिर्लोको नेतृत्वमा पनि यो पहिलो हार हो ।

सुरुआतबाटै आक्रामक खेल पस्किएको बार्सिलोनाका लागि खेलको १४औं मिनेटमा फ्रेन्च विंगर उसामान डेम्बेलेले लामो दूरीबाट रकेट सटमा सुन्दर गोल गरेका थिए । कप्तान लिओनल मेस्सीको असिस्टमा उनले हानेको कडा सट युभेन्टसका गोलकिपरले रोक्ने मौकासमेत पाएनन् । डेम्बेलेको सटले रिफ्लेक्ट हुँदै पोस्टको दिशा लिएको थियो ।

सो गोल खाएपछि युभेन्टसका ३ गोलले मान्यता पाएनन् । उनका ३ वटै गोल अफसाइड थिए । बार्सिलोनाको जित त्यत्तिबेला पक्क भयो, जतिबेला कप्तान मेस्सीले पेनाल्टीमार्फत् गोल हाने । थप समयको पहिलो मिनेटमा युभेन्टसका खेलाडीले अन्सु फातीलाई बक्समा लडाएपछि बार्सिलोनाले पेनाल्टी पायो, जसमा कप्तान मेस्सीले प्रहार गर्दै बार्सिलोनाको ०–२ को जित पक्का गरे ।

यससँगै मेस्सीले यो सिजन बार्सिलोनाका लागि ७ खेलबाट बल्ल कूल ३ गोल गरेका छन् । उता, अर्जेन्टिनाका लागि २ खेलबाट १ गोल गरेका छन् । तर, उनले क्लब र देशको टोलीबाट गरी कूल ८ खेलबाट ४ गोल नै पेनाल्टीमार्फत् गरेका छन् । मेस्सीले यो सिजन पेनाल्टीबाहेक ओपन एरियाबाट १ गोल पनि गर्न सकेका छैनन् ।

अब यो जितसँगै बार्सिलोना समूह ‘जी’मा २ खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । पराजित युभेन्टस ३ अंकसहित दोस्रो स्थानमा रहँदा डाइनामो किभ र फेरेन्सभारोस १–१ अंकसहित तेस्रो र चौथो स्थानमा छन् ।

प्रकाशित मिति १३ कार्तिक २०७७, बिहीबार ०३:३८
Loading...