आज राति हुने खेलका लागि युभेन्टस र बार्सिलोनाको प्लेइङ–११

काठमाडौं, कात्तिक १२
च्याम्पियन्स लिग फुटबलमा आज राति इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब बार्सिलोनाको रोमाञ्चक खेल हुँदैछ । खेल युभेन्टसको घरेलु मैदान युभेन्टस रंगशालामा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

आज युभेन्टसको घरमा उत्रिँदा बार्सिलोनाको टोलीमा प्रमुख खेलाडी तथा कप्तान लिओनल मेस्सीसहितका खेलाडी हुनेछन् । क्याटलान टोलीमा आज डिफेन्डर जेरार्ड पिकेसहित पहिलो रोजाइका गोलकिपर मार्क आन्द्रे टर स्टेगेन हुनेछैनन् । टर स्टेगेन शल्यक्रियापछि आराम गरिरहेका छन् भने पिके यसअघिको खेलमा पाएको रातो कार्डका कारण आजको खेलमा प्रतिबन्धमा छन् । आज बार्सिलोनाको गोलपोस्टमा ब्राजिलियन नेटो हुनेछन् । रक्षापंक्ति क्लेमेट लेङलेटको कमान्डमा हुनेछ ।

यता, आज घरेलु टोली युभेन्टसमा प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डो हुनेछैनन् । दुई साताअघि कोरोना भाइरसबाट संक्रमित बनेका उनले आजको खेल खेल्न पाउनेछैनन् । रोनाल्डो नखेल्ने भएसँगै आज रातिको बहुप्रतीष्ठित खेलमा रोनाल्डो र मेस्सीबीचको पुरानो व्यक्तिगत प्रतिस्पर्धा हेर्न नपाइने भएको छ । मेस्सीले बार्सिलोनाबाट कप्तानी भूमिकामा युभेन्टसविरुद्ध खेल्दा रोनाल्डो भने घरमा टिभीमा खेल हेरिरहेका हुनेछन् ।

आज आफ्नो घरमा बार्सिलोनाविरुद्ध उत्रिँदा युभेन्टसको टोलीमा सबैभन्दा अभाव रक्षापंक्तिमा खड्किन सक्छ । किनभने, टोलीका अनुभवी र भरपर्दा डिफेन्डरहरूमा कोही घाइते छन् भने कोही पूर्ण रूपमा फिट छैनन् । एलेक्स सान्ड्रो, कप्तान जर्जियो चिलिनी, माथिस डि लिग्ट, उपकप्तान बोनुची आजको खेलमा चोटकै कारण हुनेछैनन् । यी खेलाडीबिना युभेन्टसको रक्षापंक्ति धरापमा पर्न सक्ने खतरा छ ।

युभेन्टस र बार्सिलोना यस प्रतियोगितामा पछिल्लोपटक सन् २०१७ मा क्वार्टरफाइनलमा भिडेका थिए । जहाँ युभेन्टसले पहिलो लेगमा आफ्नो घरेलु मैदानमा बार्सिलोनालाई ३–० को नमिठो हार चखाएको थियो भने बार्सिलोनाको घरेलु मैदानमा भएको दोस्रो लेग ०–० मा सकिएको थियो । त्यसबेला युभेन्टसले बार्सिलोनालाई समग्रमा ३–०ले हराएर प्रतियोगिताबाट आउट गराएको थियो ।

युभेन्टसको सम्भावित प्लेइङ–११

बार्सिलोनाको सम्भावित प्लेइङ–११

प्रकाशित मिति १२ कार्तिक २०७७, बुधबार १९:४७
Loading...