फेलिक्स चम्किँदा च्याम्पियन्स लिगमा एथ्लेटिको मड्रिडको पहिलो जित

काठमाडौं, कात्तिक १२
युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले पहिलो जित निकालेको छ । गत राति भएको समूह चरणको दोस्रो खेलमा एथ्लेटिकोले अस्ट्रियन क्लब रेड बुल साल्जवर्गलाई ३–२ गोलले निराश बनायो । आफ्नो घरेलु मैदानमा एथ्लेटिकोलाई जिताउन युवा स्टार जुआओ फेलिक्सले २ गोल गरे । एथ्लेटिकोले १ आत्मघाती गोल पनि गरेको थियो ।

घरेलु टोली एथ्लेटिकोका लागि खेलको २९औं मिनेटमा युवा खेलाडी मार्कोस लोरेन्टोले पहिलो गोल गरेका थिए । तर, खेलको ४०औं मिनेटमा रेड बुलका लागि डोमिनिक जोबोसज्लाईले गोल गरेर टिमलाई खेलमा फर्काएका थिए । त्यसपछि दोस्रो हाफ सुरु हुनासाथ एथ्लेटिकोले आत्मघाती गोल खायो । डिफेन्डर फिलिपेले आफ्नै पोस्टमा गोल गरेपछि एथ्लेटिको १–२ ले पछि पर्न गयो ।

तर, त्यसपछि एथ्लेटकोलाई पोर्चुगिज स्टार फेलिक्सले सम्हालेर जितको बाटो देखाए । उनले खेलको ५२औं मिनेटमा गोल गर्दै टिमलाई २–२ को बराबरीमा फर्काएका थिए । खेल बराबरी नजिक पुगेका बेला फेलिक्सले नै ८५औं मिनेटमा गोल गरेर एथ्लेटिकोलाई ३–२ को जित दिलाए ।

एथ्लेटिकोले समूह चरणमा पहिलो जित दर्ता गरेको हो । यसअघि पहिलो खेलमा ऊ जर्मन क्लब बार्यन म्युनिखसँग फराकिलो अन्तरमा हारेको थियो । अब एथ्लेटिको ३ अंकसहित समूह ‘ए’ मा ३ अंकसहित दोस्रो स्थानमा छ । पराजित साल्जवर्ग १ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति १२ कार्तिक २०७७, बुधबार ०९:०७
Loading...