च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीको शानदार जित

काठमाडौं, कात्तिक १२
युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ । गत राति भएको समूह चरणको दोस्रो खेलमा सिटीले फ्रेन्च क्लब मार्सेइलीलाई उसकै घरेलु मैदानमा ०–३ ले स्तब्ध बनायो । सिटीको एकपक्षीय जितमा ३ जना खेलाडीले गोल गरे । प्ले मेकर केभिन डे ब्रुयानेले २ गोलमा पास मिलाए ।

सिटीका लागि पहिलो गोल खेलको १८औं मिनेटमा फेर्रान टोरेजले गरेका थिए । सो गोलमा केभिन डे ब्रुयानेले असिस्ट गरेका थिए । सो गोलपछि सिटीले दोस्रो गोल लामो समय संघर्ष गर्नुपरेको थियो । खेलको ७६औं मिनेटमा इकाई गुन्डोगानले रहिम स्टर्लिङको पासमा गोल गरेपछि सिटी स्पष्ट रूपमा जिततर्फ अघि बढेको थियो ।

त्यसपछि सिटीका लागि अन्तिम तथा तेस्रो गोल खेलको ८१औं मिनेटमा स्टर्लिङले गरे । उनको गोलमा पनि डे ब्रुयानेले नै असिस्ट मिलाएका थिए । सो गोलपछि थप गोल भएन । र, खेल सिटीले ०–३ ले जित्यो ।

अब यो जितपछि सिटीले समूह चरणका दुई खेलमा लगातार जित निकालेको छ । ऊ ६ अंकसहित समूह ‘सी’को शीर्ष स्थानमा छ । पराजित मार्सेइल्ली अंकविहीन हुँदै पुछारमा छ । पोर्टो र ओलम्पिायकोस समान ३–३ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति १२ कार्तिक २०७७, बुधबार ०८:१५
Loading...