च्याम्पियन्स लिगमा बार्यनको लगातार जित : इन्टर मिलान फेरि रोकियो

काठमाडौं, कात्तिक १२
युरोपियन च्याम्पियन्स लिग फुटबलमा साबिक विजेता जर्मन क्लब बार्यन म्युनिखले लगातार दोस्रो जित दर्ता गरेको छ । गत राति भएको समूह चरणको दोस्रो खेलमा बार्यनले रसियन क्लब लोकोमोटिभ मोस्कोलाई उसकै घरेलु मैदानमा १–२ गोलअन्तरले हरायो ।

बार्यनलाई अवे मैदानमा जिताउनेक्रममा खेलको १३औं मिनेटमा लियोन गोरेट्जाले सुरुआत गोल गरेका थिए । सो गोलपछि खेलमा दोस्रो गोल हुन ७०औं मिनेटसम्म लाग्यो । पाहुना टोलीका लागि एन्टोन मिरानचुकले गोल गर्दै खेल १–१ बनाएका थिए । तर, त्यसको ९ मिनेटपछि नै बार्यनका लागि युवा खेलाडी जोसुवा किमिचले गोल गरेपछि खेल बार्यनले १–२ ले जित्यो ।

अब यो जितपछि बार्यनले समूह चरणमा लगातार दुई खेल जितेर ६ अंक बनाएको छ । ऊ समूह ‘ए’को शीर्ष स्थानमा छ । पराजित मोस्को १ अंक बनाएर तेस्रो स्थानमा छ ।

गत राति नै भएको अर्को खेलमा युक्रेनको क्लब शाख्तर डोनेट्स्क र इटालियन इन्टर मिलानले गोलरहित बराबरी खेले । शाख्तरको घरमा भएको खेलमा दुवै टोली गोलविहीन बन्दा १–१ अंक बाँड्न बाध्य भए । अब समूह ‘बी’मा शाख्तर ४ अंकसहित शीर्ष सथानमा रहँदा जर्मन क्लब मोन्चेङ्लाडवाक २ अंकसहित दोस्रो तथा मिलान २ अंकसहित तेस्रोमा छ । स्पेनिस रियल मड्रिड भने मात्रै १ अंक बनाएर सबैभन्दा पुछारमा छ ।

प्रकाशित मिति १२ कार्तिक २०७७, बुधबार ०७:५७
Loading...