अन्ततः बार्सिलोनाका अध्यक्षसहित बोर्डद्वारा राजीनामा

एजेन्सी, कात्तिक १२
चर्को विवाद र आलोचनाबीच स्पेनिस फुटबल क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउसहितका अधिकारीले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय क्लबका सदस्यदेखि समर्थकबाट समेत आलोचित बनेका उनले दबाब थेग्न नसकेर राजीनामा दिन बाध्य भएका हुन् । बार्टोमेउ सन् २०१४ मा अध्यक्ष पदमा चुनिएका थिए ।

पछिल्लो समय कप्तान लिओनल मेस्सीसँग सम्बन्ध बिग्रिएपछि बार्टोमेउको झनै आलोचना बढेको थियो । क्लबलाई अघि बढाउन प्रभावकारी योजना र रनणनीति नभएको भन्दै उनको आलोचना हुँदै आएको थियो । बोर्टोमेउको पदको अवधि सकिन ५ महिना बाँकी छँदै उनले पद छाड्ने निर्णय गरेका हुन् ।

पछिल्लो समय क्लबका २० हजारभन्दा बढी साधारण सदस्यले बार्टोमेउलाई पदबाट हटाउन भन्दै हस्ताक्षर अभियान नै चलाएका थिए । क्लब आर्थिक रूपमा खस्किँदै गएको र मैदानको प्रदर्शन समेत लगातार बिग्रँदै गएकाले बार्टोमेउमाथि थप दबाब बढेको थियो ।

नयाँ सिजन सुरु हुनुअघि कप्तान मेस्सीले बार्टोमेउकै कारण क्लब छाड्ने निर्णय गरेका थिए । उनले क्लब खराब स्थितिमा पुग्नुको कारण बार्टोमेउलाई मान्दै आफू उनको योजनामा काम गर्न नसक्दने भन्दै क्लब छाड्न चाहेका थिए । तर, मेस्सी ७०० मिलियन युरोको रिलिज क्लजका कारण रोकिए ।

अब बार्टोमेउको राजीनामासँगै क्लबमा नयाँ नेतृत्वका लागि दौड सुरु हुनेछ । साथै, मेस्सीले नयाँ नेतृत्वमा आफूअनुकूल व्यक्ति आए बार्सिलोनामा बसाइ लम्ब्याउने सम्भावना पनि बढेको छ ।

प्रकाशित मिति १२ कार्तिक २०७७, बुधबार ०७:२९
Loading...