प्रिमियर लिग : टोटनह्यामको जितमा सन बने नायक

काठमाडौं, कात्तिक ११
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले संघर्षपूर्ण जित निकालेको छ । गत राति भएको लिगको छैटौं खेलमा टोटनह्यामले बर्नलीलाई उसकै घरेलु मैदानमा ०–१ गोल पराजित गरेको हो । टोटनह्यामलाई अवे मैदानमा जिताउन दक्षिण कोरियन फरवार्ड सन हेङ मिन नायक बने ।

निकै प्रतिस्पर्धात्मक खेलमा टोटनह्यामलाई १ गोल गर्न खेलको ७६औं मिनेटसम्म लड्नु परेको थियो । त्यसअघि उसले थोरै मात्र गोलका अवसर बनायो । आफ्नो घरमा बर्नलीले टोटनह्यामविरुद्ध आक्रामक खेल खेले पनि गोल गर्न नसक्दा नतिजा गुमायो ।

खेलको ७६औं मिनेटमा ह्यारी केनको पासमा सनले गोल गरेपछि खेल टोटनह्यामले ०–१ ले जित्यो । यस खेलमा गरेको असिस्ट सँगै केनले यो सिजन लिगमा कूल ८ असिस्ट पूरा गरेका छन् । उनी टप लिगमा सबैभन्दा धेरै ८ असिस्ट गर्ने खेलाडी हुन् । उनले ६ खेलबाट ५ गोल गर्दै ८ असिस्ट गरेका हुन् ।

यो जितपछि टोटनह्यामले लिगका ६ खेलबाट ११ अंक जोडेर पाँचौं स्थानमा चढेको छ । ऊ चौथो स्थानको लेस्टर सिटीभन्दाभन्दा १ अंकले पछि छ । पराजित बर्नली मात्रै १ अंक बनाएर १८औं स्थानमा छ ।

प्रकाशित मिति ११ कार्तिक २०७७, मंगलवार ०७:५२
Loading...