सिरी ए : ज्लाटन चम्किए तर मिलान बराबरीमा रोकियो

काठमाडौं, कात्तिक १०
भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच चम्किएको खेलमा एसी मिलान रामोसँग आफ्नै घरमा बराबरीमा रोकिएको छ । गत राति भएको लिगको पाँचौं खेलमा मिलान आफ्नै घरमा ३–३ को बराबरमिा रोकिएको हो । घरेलु मैदानमा ज्लाटनले १ पेनाल्टी गोलसहित २ गोल गरे पनि अग्रता जोगाउन नसक्दा मिलान यो सिजन पहिलोपटक जितबाट चुक्यो ।

मिलानका लागि खेल सुरु भएको दोस्रो मिनेटमै ज्लाटनले गोल गरेर अग्रता दिलाएका थिए । उनले लामो पासमा बक्सभित्रबाट वान टचमै गोल गरेका थिए । त्यसपछि १४औं मिनेटमा कर्नर किकमा रोमाका लागि इडेन जेकोले बराबरी गोल फर्काए ।

त्यसपछि खेलको ४७औं मिनेटमा घरेलु टोली मिलानका लागि एलेक्सिस सालेमाकेर्सले गोल गरेर टिमलाई २–१ को अग्रता दिलाए । तर, रोमाले पुनः खेलमा कमब्याक गर्यो । खेलको ७१औं मिनेटमा पाहुना टोली रोमाले पेनाल्टी पायो, जसमा जोर्डन भेरेटोउटले गोल गरेर खेल पुनः २–२ बनाए । मिलानका खेलाडीले बक्समा खराब ट्याकल गरेर लडाएपछि रेफ्रीले रोमालाई पेनाल्टी दिएका थिए ।

त्यसपछि खेलको ७९औं मिनेटमा मिलानले पनि पेनाल्टी पायो । रोमाका डिफेन्डरले बक्समा फउल गरेपछि रेफ्रीले मिलानलाई पेनाल्टी दिए । जसमा इब्राहिमोभिचले सहजै गोल गरेर टिमलाई ३–२ ले अघि बढाएका थिए । तर, उनले गोल गरेको ५ मिनेटमै रोमाका लागि मारास कुमबुल्लाले कर्नर किकमा हेडिङमार्फत् गोल गरेपछि खेल ३–३ मा सकियो ।

अब यससँगै मिलान यो सिजन पहिलोपटक जित्न असफल भएको छ । यसअघि उसले ४ खेलमा सबै खेल जितेको थियो । पाँचौं खेलमा २ अंक गुमाएपछि मिलानले ५ खेलबाट १३ अंक बनाएको छ । ऊ शीर्ष स्थानमा यथावत छ । रोमा ५ खेलबाट ८ अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति ११ कार्तिक २०७७, मंगलवार ०७:३३
Loading...