रोनाल्डो एक अवस्थामा मात्रै बार्सिलोनाविरुद्ध खेल्न पाउने

एजेन्सी, कात्तिक १०
कोरोना भाइरसबाट संक्रमित इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले बुधबार राति च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध हुने खेल खेल्ने–नखेल्नेमा अझै आशंका रहेको छ । खेल हुने दिन आउन २ दिन बाँकी छँदासम्म रोनाल्डोको कोरोना जाँच रिपोर्ट नेगेटिभ आएको छैन । पछिल्लो २४ घन्टामा उनको जाँच भएको छैन ।

तर, ३५ वर्षीय रोनाल्डोले बार्सिलोनाविरुद्ध खेल्ने झिनो सम्भावना भने बाँकी नै छ । इटालियन मिडियाका अनुसार रोनाल्डोको आज सोमबार र मंगलबार दुवै दिन लगातार कोरोना जाँच गराइनेछ । यदि बढीमा खेलको समयभन्दा २४ घन्टाअघिसम्म उनको कोरोना जाँचको रिपोर्ट नेगेटिभ आए रोनाल्डोले बार्सिलोनाविरुद्ध खेल्न पाउनेछन् ।

युभेन्टसले यसअघि नै रोनाल्डोको स्वास्थ्य अवस्थाको रिर्पोट र उनमा कोरोनाको संक्रमण भए पनि लक्षण नदेखिएको व्यहोरोको रिपोर्ट युइएफए समक्ष पेश गरिसकेको छ । यदि खेलको समयभन्दा २४ भन्टा अघिसम्म रिपोर्ट नेगेटिभ आएमा युइएफएले रोनाल्डोलाई बार्सिलोनाविरुद्ध खेल्न अनुमति दिने सम्भावना अझै पनि छ ।

तर, त्यसका लागि सोमबार र मंगलबारसम्म रोनाल्डोको जाँच रिपोर्ट नेगेटिभ आइसक्नुपर्छ । अन्यथा, उनले युभेन्टसको घरेलु मैदानमा हुने पहिलो लेगको खेल गुमाउनेछन् । यता, युभेन्टसले पनि बार्सिलोनाविरुद्ध रोनाल्डोलाई उतार्न सबैखाले प्रयास गरिरहेको छ ।

रोनाल्डो आफैं पनि बार्सिलोनाविरुद्ध खेल्न चाहन्छन् । तर, त्यसका लागि उनको जाँच रिपोर्ट नेगेटिभ आइसकेपछि मात्रै अन्य सम्भावनाको ढोका खुल्छ । अन्यथा, उनले बहुप्रतीक्षित बार्सिलोनाविरुद्धको खेल गुमाउनेछन् ।

प्रकाशित मिति १० कार्तिक २०७७, सोमबार १४:५५
Loading...