सिरी ए : रोनाल्डोबिनाको युभेन्टस बराबरीमा रोकियो

काठमाडौं, कात्तिक १०
इटालियन क्लब युभेन्टस घरेलु सिरी ए लिग फुटबलमा लिगको पाँचौं खेलमा बराबरीमा रोकिएको छ । गत राति आफ्नो घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई पाहुना टोली भेरोनाले १–१ को बराबरीमा रोकेको हो । प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोबिनै मैदान उत्रिएको युभेन्टस सुरुआती ५ खेल सकिँदा तेस्रोपटक बराबरीमा रोकिएको हो ।

युभेन्टसले पछि परेको स्थितिमा गोल गरेर खेल बराबरी बनाएको हो । पाहुना टोली भेरोनाका लागि खेलको ६०औं मिनेटमा आन्ड्रेया फाभिल्लीले गोल गरेका थिए । तर, युभेन्टसका सब्सिच्युट खेलाडी डेजान कुलुसेभ्स्कीले ७७औं मिनेटमा अल्भारो मोराटाको पासमा गोल गरेपछि युभेन्टसले खेल १–१ बनायो । त्यसपछि थप समयमा दुवै तर्फबाट गोल नभएपछि दुवै टोलीले अंक बाँडे ।

त्यसअघि पहिलो हाफको अन्तिम समयमा युभेन्टसका लागि मोराटाले नै गोल गरेका थिए । तर, उनको गोललाई भिएअराले रद्द गरिदिएको थियो । अब यो बराबरीसँगै युभेन्टसले ५ खेलबाट ९ अंक जोडेको छ । ऊ पाँचौं स्थानमा छ । भेरोना ८ अंकसहित आठौं स्थानमा छ ।

प्रकाशित मिति १० कार्तिक २०७७, सोमबार १०:२५
Loading...