युभेन्टससँगको खेलअघि बार्सिलोनालाई झट्का : कोउटिन्हो घाइते

एजेन्सी, कात्तिक ९
स्पेनिस क्लब बार्सिलोनालाई युरोपियन च्याम्पियन्स लिग फुटबलमा समूह चरणको महत्त्वपूर्ण खेलअघि खेलाडीको चोटले पिरोलेको छ । उसका प्रमुख अट्याकिङ मिडफिल्डर फिलिपे कोउटिन्हो घाइते भएका छन् । क्लब बार्सिलोनाले आज एक प्रेस नोट जारी गर्दै ब्राजिलियन खेलाडी हार्मस्ट्रिङ इन्जुरीबाट पीडित बनेको जनाएको छ ।

अघिल्लो दिन ला लिगा इएल क्लासिको खेल दौरान कोउटिन्हो घाइते भएका हुन् । उनले सो खेल पूरै समय खेले पनि खेलपछि उनको चेकजाँच गर्दा उनी घाइते भएको पुष्टि भएको हो । आफ्नो घरमा भएको रियल मड्रिडविरुद्धको खेलमा कोउटिन्होमाथि दुईपटक खराब ट्याकल भएको थियो ।

यससँगै कोउटिन्होले बुधबार राति च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टसविरुद्धको खेल गुमाउने भएका छन् । बार्सिलोना समूह चरणको दोस्रो खेल खेल्न युभेन्टसको घरेलु मैदानमा उत्रिँदैछ । सो खेलमा कोउटिन्हो नहुँदा युवा स्टार रिकी पुचले मौका पाउने सम्भावना छ ।

प्रकाशित मिति ९ कार्तिक २०७७, आईतवार २२:४७
Loading...