प्रिमियर लिग : एभर्टनको अपराजित यात्रामा पूर्णविराम

काठमाडौं, कात्तिक ९
नयाँ सिजनमा इंग्लिस प्रिमियर लिग फुटबलमा उत्कृष्ट लयमा रहेको एभर्टनको अपराजित यात्रामा पूर्णविराम लागेको छ । आइतबार राति भएको लिगको छैटौं खेल खेल्नेक्रममा साउथह्यामपटनले एभर्टनलाई २–० ले हराउँदै उसको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको हो ।

लिगको छैटौं खेल खेल्न साउथह्यामपनटको घरमा पुगेको एभर्टनले अपराजित यात्रा जोगाउन सकेन । यससँगै कार्लेस एन्सेलोट्टीको कमान्डमा रहेको एभर्टनले यो सिजनकै पहिलो हार व्यहोरेको छ । उसले यसअघिका ५ खेलमा हार भोग्नुपरेको थिएन । उसले अघिल्ला ५ मध्ये ४ खेल जितेर १ खेल बराबरी गरेको थियो ।

यता, एभर्टन हारेसँगै प्रिमियर लिगमा सुरुआती ६ खेल सकिँदा अब अपराजित टिम कुनै पनि बाँकी रहेको छैन । र, लिगको इतिहासमा सबैभन्दा चाँडो मात्रै ६ खेलपछि सबै टिम हारेको यो नै पहिलोपटक हो ।

साउथह्यामटनको घरमा एभर्टन खेलको ७२औं मिनेटमा १० खेलाडीमा झरेको थियो । एभर्टनका फ्रेन्च खेलाडी लुकास डिग्ने खराब फउल गरेपछि सोझै रातो कार्ड पाएर मैदान छाडेका थिए ।

साउथह्यामपटनले गरेका २ वटै गोल पहिलो हाफमा गरेको हो । पहिलो गोल २७औं मिनेटमा जेम्स वार्ड–प्रोजले गरेका थिए । त्यसको ८ मिनेटमै चे अडाम्सले गोल गरेपछि साउथह्यामपटनले खेलमा २–० को अग्रता बनायो । अन्ततः उसले खेलभरि नै सोही अग्रता बचाएर खेल जित्यो ।

अब यो हारपछि पनि एभर्टन ६ खेलपछि १३ अंकका साथ शीर्ष स्थानमा यथावतै छ । समान १३ अंक भएको लिभरपुल दोस्रो स्थानमा छ । एभर्टनलाई हराएको साउथह्यामपटन १० अंक जोडेर पाँचौं स्थानमा चढेको छ ।

प्रकाशित मिति ९ कार्तिक २०७७, आईतवार २२:३१
Loading...