हाजार्ड प्रशिक्षणमा फर्किए : च्याम्पियन्स लिगबाट कमब्याक गर्दै

एजेन्सी, कात्तिक ९
स्पेनिस क्लब रियल मड्रिडका प्रमुख खेलाडी इडेन हाजार्ड टोलीमा फर्किएका छन् । दुई दिनपछि च्याम्पियन्स लिगमा हुने समूह चरणको दोस्रो खेलका लागि रियलले सार्वजनिक गरेको २१ सदस्यीय टोलीमा हाजार्ड समेटिएका छन् । गत सिजनबाटै चोटसँग जुध्दै आएका हाजार्ड लामो समयपछि टोलीमा फर्किएका हुन् ।

हाजार्डले आइतबार समूहमा प्रशिक्षण पनि गरेका छन् । शनिबार रियलले सिजनको पहिलो इएल क्लासिकोमा बार्सिलोनालाई उसकै घरमा १–३ ले हराएको भोलिपल्टबाटै रियलले च्याम्पियन्स लिगको तयारी थालेको छ । रियलको सामूहिक प्रशिक्षणमा हाजार्ड ठीकठाक फर्किएका छन् । उनले अन्य सहकर्मीसँगै प्रशिक्षणसमेत पूरा गरेका छन् ।

रियलले च्याम्पियन्स लिगमा समूह चरणको दोस्रो खेल मंगलबार राति अवे मैदानमा जर्मन क्लब मोन्चेङ्लाडवाकसँग खेल्दै छ । हाजार्डले सो खेलबाट कमब्याक गर्नेछन् । रियल यसअघि पहिलो खेलमा युक्रेनको क्लब शाख्तर डोनेस्टकसँग आफ्नै घरमा ०–१ ले हारेको छ ।

सन् २०१९ मा इंग्लिस क्लब चेल्सीबाट १०० मिलियन युरोमा रियल पुगेका बेल्जियन स्टार हाजार्ड रियलमा लगातार घाइते हुँदै आएका छन् । उनले हालसम्म रियलका लागि कूल २२ खेल खेल्दै मात्रै १ गोल गरेका छन् । यो सिजन त उनी मैदान समेत उत्रिएका छैनन् । तर, उनले मंगलबार राति च्याम्पियन्स लिगको खेलबाट पुनरागमन गर्ने पक्का भएको छ ।

प्रकाशित मिति ९ कार्तिक २०७७, आईतवार २१:२५
Loading...