रियल मड्रिडले क्लासिको जित्दा रोनाल्डोले मनाए खुसीयाली

एजेन्सी, कात्तिक ९
स्पेनिस क्लब रियल मड्रिडले नयाँ सिजनको पहिलो इएल क्लासिको जितेपछि पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोले खुसीयाली मनाएका छन् । गत राति भएको क्लासिकोमा रियलले बार्सिलोनालाई उसकै घरेलु मैदानमा १–३ ले हराएको थियो । रियलले क्लासिको जित्नासाथ रोनाल्डोले सामाजिक सन्जालमार्फत् एक तस्बिर पोस्ट गर्दै खुसीयाली मनाएका हन् ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा शानदार जित दिलाउन रियलका लागि फेडे भाल्भर्डे, सर्जियो रामोस र लुका मोड्रिकले गोल गरेका थिए । बार्सिलोनाका लागि १ गोल अन्सु फातीले गरेका थिए ।

रियलले बार्सिलोनालाई लगातार दोस्रो क्लासिकोमा हराएको हो । गत सिजन आफ्नो घरमा भएको खेलमा रियलले बार्सिलोनालाई २–० ले स्तब्ध बनाएको थियो । त्यसपछि क्याम्प नोउ पुगेको रियलले बार्सिलोनालई १–३ ले हरायो ।

रियलले बार्सिलोनालाई ला लिगा क्लासिकोमा क्याम्प नोउमा ४ वर्षपछि हराएको हो । यसअघि सन् २०१६ रियलले बार्सिलोनालाई उसकै घरमा १–२ ले हराएको थियो । सो खेलमा रोनाल्डोले बार्सिलोनाविरुद्ध ८५औं मिनेटमा विजयी गोल हानेका थिए । त्यसयता रियलले बार्सिलोनालाई ला लिगा क्लासिकोमा उसकै घरमा हराउन सकेको थिएन ।

४ वर्षपछि रियलले बार्सिलोनालाई उसकै घरमा हराएपछि रोनाल्डोले सामाजिक सन्जालमा घाम तापेर आनन्द लिँदै गरेको एक तस्बिर पोस्ट गर्दै क्याप्समा आफ्नो आइकनिक सेलिब्रेसन ‘सी’ लेखेका छन् । रोनाल्डोको यो सेलिब्रेसन रियलमा छँदा प्रख्यात बनेको थियो ।

रोनाल्डो क्लासिकोमा रियलका तर्फबाट सबैभन्दा धेरे गोल र असिस्ट गर्ने खेलाडी हुन् । उनले बार्सिलोनाविरुद्ध सबैखाले खेलमा कूल १८ गोल गर्दै ९ असिस्ट प्रदान गरेका छन् । उनी सन् २०१८ मा रियल मड्रिड छाडेर युभेन्टस गएका थिए ।

प्रकाशित मिति ९ कार्तिक २०७७, आईतवार १९:१९
Loading...