सिरी ए : रोनाल्डोबिनाको युभेन्टस आज भेरोनासँग भिड्दै

काठमाडौं, कात्तिक ९
इटालियन सिरी ए लिग फुटबलमा साबिक विजेता युभेन्टसले आफ्नो पाँचौं खेल आज राति खेल्दै छ । आन्ड्रेया पिर्लोको नेतृत्वमा औसत सुरआत गरेको युभेन्टसले आजको खेलमा भेरोनालाई आफ्नो घरमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः३० बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा युभेन्टस ४ खेलपछि ८ अंक जोडेर सातौं स्थानमा छ । उसले यसअघि खेलेका ४ खेलमध्ये २ खेल जितेर २ खेलमा बराबरी गरेको छ । आज युभेन्टसको घरमा उत्रिन लागेको भेरोना समान ४ खेलपछि ७ अंकसहित आठौं स्थानमा छ ।

आज घरेलु मैदानमा युभेन्टसले स्पष्ट जित निकाले ऊ दोस्रो स्थानमा उक्लिने सम्भावना छ । पराजित भए उसले सिजनको पहिलो हार व्यहोर्नेछ । हाल अंक तालिकामा एसी मिलान ४ खेलमा ४ वटै जितेर १२ अंकसहित शीर्ष स्थानमा छ । ११ अंक भएको सासुओलो दोस्रो स्थानमा छ ।

आज घरेलु मैदानमा उत्रिँदा युभेन्टसको टोलीमा प्रमुख फरवार्ड क्रिस्यिानो रोनाल्डो हुनेछैनन् । कोरोना भाइरसबाट संक्रमित बनेका उनको अझै पनि जाँच चलिरहेको छ । उनको कोरोना जाँचको रिपोर्ट नेगेटिभ नआउँदासम्म उनले खेल्न पाउँदैनन् । रोनाल्डो च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्धको खेलका लागि तयार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति ९ कार्तिक २०७७, आईतवार १४:२२
Loading...