रियल मड्रिडसँग हारेपछि रेफ्री र भिएआरमाथि यसरी खनिए कोम्यान

काठमाडौं, कात्तिक ९
स्पेनिस ला लिगा फुटबलमा गत राति भएको सिजनको पहिलो इएल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनालाई उसकै घरमा १–३ को हार चखायो । क्याम्प नोउमा पाहुना टोली रियलले उत्कृष्ट प्रदर्शन गर्दै लिओनल मेस्सीको टिमलाई हारको चोट दियो । रियलले लगातार दोस्रो क्लासिकोमा बार्सिलोनालाई हराएको हो भने सन् २०१६ पछि पहिलोपटक क्याम्प नोउमा जित निकालेको हो ।

गत रातिको खेलपछि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले खेल खेलाउने रेफ्री र भिएआरको चर्को आलोचना गरेका छन् । दोस्रो हाफमा रियलले विवादस्पद पेनाल्टी पाएर गोल गरेको थियो । खेलको ६०औं मिनेटमा कप्तान सर्जियो रामोसलाई बार्सिलानाका डिफेन्डर क्लेमेट लेङलेटले जर्सीमा समातेर लडाएपछि रेफ्रीले भिएआरमार्फत् रियललाई पेनाल्टी दिएका थिए, जसमा रामोसले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि ९०औं मिनेटमा लुका मोड्रिकले दर्शनीय गोल गरेपछि खेल रियलले १–३ ले जित्यो ।

तर, बार्सिलोनाका प्रशिक्षक कोम्यानले भने रेफ्रीले भिएआर बार्सिलोनाविरुद्ध मात्रै प्रयोग गर्दै आएको भन्दै गम्भीर आरोप लगाएका छन् ।रामोसको पेनाल्टी गोलपछि रियलले खेल आफ्नो पक्षमा ढालेको थियो । बार्सिलोना आफ्नै घरमा हार्नुको खास मोड सोही पेनाल्टी थियो । यता, बार्सिलोनाले खेलमा दुई पेनाल्टी पाउने सम्भावना भए पनि भिएआरले मैदानका रेफ्रीसँग छलफल गरेपछि पेनाल्टी दिनु नपर्ने बताएको थियो । खेलपछि कोम्यानको आक्रोश सार्वजनिक रूपमै व्यक्त भयो । उनले ‘रेफ्री र भिएआरले बार्सिलोनाविरुद्ध मात्रै निर्णय लिने गरेको’ भन्दै खेलको पद्धतिमाथि नै आरोप लगाए ।

‘खासमा मैले भिएआर बुझ्न सकिनँ । मलाई लाग्छ कि, यो बार्सिलोनाविरुद्ध निर्णय लिन मात्रै प्रयोग गरिन्छ । बक्स क्षेत्रभित्र जर्सी तान्नु ठूलो कुरा होइन । तर, रामोस लड्नुअघि उनले फउल गरेको हेरिएन । रामोस जसरी लडे, त्यो पेनाल्टी दिनुपर्नेखालको थिएन । रामोसले चलाखी गरेर पेनाल्टी जितेका हुन् भन्ने प्रष्टै देखिन्छ,’ कोम्यानले मिडियासँग भने ।

कोम्यानले लिगका सुरुआतका ५ खेललाई हेर्दा हरेक खेलमा रेफ्री र भिएआरले बार्सिलोनाविरुद्ध निर्णय लिने गरेको बताए । ‘हामीले सुरुका ५ खेल खेलिसक्दा मैले यो निचोड निकालेको छु कि, भिएआरका निर्णय हामीविरुद्ध छन् । हाम्रा पक्षमा कुनै निर्णय भएको छैन । अनावश्यक पेनाल्टी दिँदा खेलको नतिजामा असर पर्छ । रियललाई पेनाल्टी दिनुअघि हामीले धेरै राम्रो खेरिहेका थियौं । पेनाल्टी दिएपछि उनीहरूले दबाब बढाए,’ कोम्यानले भने ।

कोम्यानले बार्सिलोनाले पाउने पेनाल्टीमा रेफ्रीले गम्भीरतापूर्वक नहेरेको आरोप पनि लगाए । ‘मेरो विचारमा हामीले दुई पेनाल्टी पाउनुपर्ने थियो । तर, रेफ्री र भिएआरले राम्रोसँग हेरेनन् । तर, रियललाई अनावश्यक ठाउँमा पेनाल्टी दिइयो । रेफ्री र भिएआरले रियललाई जिताउन सघाएको स्पष्टै देखिन्छ,’ कोम्यानले भने ।

प्रकाशित मिति ९ कार्तिक २०७७, आईतवार १३:४५
Loading...