लेस्टरलाई उसकै घरमा हराउँदै एस्टोन भिल्ला प्रिमियर लिगको दोस्रो स्थानमा

काठमाडौं, कात्तिक ३
नयाँ सिजन उत्कृष्ट लयमा रहेको स्टोन भिल्लाले अर्को जित निकालेको छ । उसले लिगकै एक बलियो टिम लेस्टर सिटीलाई गत राति उसकै घरेलु मैदानमा ०–१ ले स्तब्ध बनायो । निकै प्रतिस्पर्धात्मक खेलमा भिल्लाले ९० मिनेटपछि थपिएको समयमा विजयी गोल गर्दै घरेलु टोलीलाई चोट दिएको हो ।

लेस्टरले आफ्नो घरमा दर्जनौंपटक आक्रमण बुनेर ५ पटक अन टार्गेट सट हाने पनि गोल निकाल्न सकेन । भिल्लाको मजबुत रक्षापंक्ति छिचोल्न नसक्दा लेस्टरको फरवार्ड लाइन चर्को दबाबमा थियो । खेल गोलरहित ०–० मा सकिनेतर्फ अघि बढेका बेला थपिएको समयको पहिलो मिनेटमा नयाँ खेलाडी रोज बार्केलीले गोल गरेपछि लेस्टर आफ्नै घरमा हार टार्न सकेन ।

गोल खाएपछि कमब्याक गर्न पर्याप्त समय नहुँदा अन्ततः लेस्टरले घरेलु मैदानबाटै ३ अंक गुमायो । अब यो जितपछि भिल्ला ४ खेलबाट १२ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ । उसले यो सिजन खेलेका ४ वटै खेल शतप्रतिशत जितेको छ । हालको अवस्थामा ऊ ५ खेल खेलेको एभर्टनभन्दा १ अंकल पछि छ भने ५ खेल नै खेलेको लिभरपुलभन्दा २ अंकले अघि छ । यता, लेस्टर सिटी भने ५ खेलबाट ९ अंकसहित चौथो स्थानमा यथावत रहेको छ । उसले सुरुआती ५ खेलमध्ये २ खेल हारिसकेको छ ।

प्रकाशित मिति ३ कार्तिक २०७७, सोमबार ०८:१५
Loading...