बेलको डेब्यु खेलमा टोटनह्यामको निराशाजनक बराबरी : वेस्ट ह्यामको रोमाञ्चक कमब्याक !

काठमाडौं, कात्तिक २
पूर्वखेलाडी तथा वेल्स स्टार ग्यारेथ बेलको डेब्यु खेलमा टोनह्याम प्रिमियर लिग फुटबलमा निराशाजनक बराबरीमा रोकिएको छ । आइतबार राति भएको लिगको पाँचौं खेलमा टोटनह्यामले आफ्नो घरेलु मैदानमा ३–० को फराकिलो अग्रता जोगाउन नसक्दा पाहुना टोली वेस्ट ह्यामसँग ३–३ को बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

टोटनह्यामले खेलको १६औं मिनेटमभित्रै ३–० को सहज अग्रता बनाए पनि अन्तिम समय सम्हालिन सकेन । र, पाहुना टोली वेस्ट ह्यामले टोटनह्यामविरुद्ध सनसनीपूर्ण कमब्याक सफल बनायो । उसले ८२ मिनेटपछि लगालग ३ गोल गरेर ३–० को खेललाई ३–३ मा पुराएर टुंगाउँदा टोटनह्याम घरमै निराश बन्यो ।

यसै समर विन्डोमा स्पेनिस क्लब रियल मड्रिडबाट एकवर्षे लोनमा अनुबन्ध भएका बेलले यसै खेलबाट टोटनह्याममा दोस्रोपटक डेब्यु गरे । उनलाई खेलको ७२औं मिनेटमा स्टेभेन बर्जविज्नको स्थानमा मैदान छिराइएको थियो । उनले डेब्यु खेलमा कूल २२ मिनेट मैदानमा बिताए । मैदान छिर्नासाथ बेलले पहिलोपटक फ्रि किक हानेर बल छोएका थिए । उनको लामो दूरीको प्रहार अन टार्गेट रहे पनि गोलकिपरले रोकेका थिए ।

आफ्नो घरेलु वेम्बली रंगशालामा टोटनह्यामले खेल सुरु भएको पहिलो मिनेटमै अग्रता लिएको थियो । वेस्ट ह्यामविरुद्धको पहिलो मुभमै दक्षिण कोरियन फरवार्ड सन हेङ मिनले बुलेट सटमा शानदार गोल गरेर खाता खोलेका थिए । उनको गोलमा ह्यारी केनले असिस्ट गरेका थिए ।

त्यसपछि खेलको आठौं मिनेटमा केनले आफ्नो पहिलो गोल गरे । उनको सुन्दर गोलमा सनले नै असिस्ट प्रदान गरेका थिए । खेलमा लगातार पकड जमाउँदै गएको घरेलु टोली टोटनह्यामका लागि पहिलो गोल गरेको ८ मिनेटपछि नै केनले व्यक्तिगत दोस्रो गोल गरे । सो गोलमा सर्जियो रेगुइलियोनले असिस्ट गरेका थिए । १६ मिनेटमा ३–० को अग्रता लिएको टोटनह्यामले फराकिलो नतिजा निकाल्ने अनुमान थियो । तर, वेस्ट ह्यामले अन्तिम समयमा पासा पल्टायो ।

खेलको ८१औं मिनेटसम्म ३–०को अग्रता बनाएको टोटनह्यामले त्यसपछि ४ मिनेटमा २ गोल खायो । ८२औं मिनेटमा फाबिएन बालबुएनाले हेडिङमार्फत् गोल गरेर खेललाई ३–१ मा झारेका थिए । त्यसको ३ मिनेटमा टोटनह्यामका ड्याभिन्सन सान्चेजले बक्समा हेडिङमार्फत् बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल गरेपछि खेल ३–२ मा खुम्चियो ।

यसपछि पनि टोटनह्याम जितनजिक पुगेको थियो । तर, थपिएको समयको अन्तिम मिनेटमा वेस्ट ह्यामका मानुएल लान्जिनीले बक्स बाहिरबाट हानेको बुलेट सटले पोस्टको कुना च्याप्दै जाली चुमपछि टोटनह्यामले खेल जित्न पाएन । र, ३–३ को बराबरीमा टुंगियो ।

अब यो बराबरीपछि टोटनह्यामले सुरुआती ५ खेल सकिँदा ८ अंक बनाएर अंक तालिकाको छैटौं स्थानमा चढेको छ । १३ अंक भएको एटर्भन शीर्ष स्थानमा छ । यता, वेस्ट ह्याम ७ अंकसहित आठौं स्थानमा चढेको छ ।

प्रकाशित मिति २ कार्तिक २०७७, आईतवार २३:२३
Loading...