के सिटीले मेस्सीलाई जनवरी विन्डोमै भित्र्याउँदै छ ?

एजेन्सी, कात्तिक २
स्पेनिस क्लब बार्सिलोनाका कप्तान लिओनल मेस्सीलाई जारी सिजन नसकिँदै भित्र्याउन इंग्लिस क्लब म्यानचेस्टर सिटीले कसरत थालेको छ । यस्तो रिपोर्ट इंग्लिस मिडियाले छापेका छन् । ३३ वर्षीय मेस्सीको बार्सिलोनासँगको सम्झौता यो सिजनको अन्त्यसम्मका लागि छ । यसअघि समर विन्डोमा मेस्सीले बार्सिलोना छाडेर सिटी जाने तयारी गरेका थिए ।

तर, मेस्सीले चाहेजसरी बार्सिलोनाले उनलाई फ्री ट्रान्सफरमा जान नदिएपछि मेस्सी बाध्य बनेर क्याम्प नोउमै रहेका थिए । बार्सिलोनासँगको सहमतिबिना मेस्सी भित्र्याउन ७०० मिलियन युरो तिर्नुपर्ने भएपछि सिटी पछि हटेको थियो । बार्सिलोनासँगको सम्झौताअनुसार मेस्सीले यो सिजन सकिएपछि इच्छाअनुसार जुनसुकै क्लबमा पनि फ्रि ट्रान्सफमा जान पाउँछन् ।

तर, सिटीका प्रशिक्षक पेप ग्वार्डिओला मेस्सीलाई सकेसम्म चाँडो भित्र्याउन चाहन्छन् । र, त्यसका लागि उनले जनवरी विन्डोमा मेस्सीका लागि बार्सिलोना समक्ष प्रस्ताव गर्ने तयारी गरेका छन् । जनवरी विन्डोमा मेस्सी भित्र्याउन सिटीले बार्सिलोना समक्ष मात्रै १५ मिलियन पाउन्डको प्रस्ताव गर्ने तयारी गरेको रिपोर्ट छ ।

सिजन सकिएपछि मेस्सीले निःशुल्क क्लब छाड्ने अवस्थामा बार्सिलोनाले उनलाई फ्रीमा जान दिनुभन्दा १५ मिलियन युरो (पाउन्ड) भए पनि लिएर जनवरीमै छाड्न तयार हुने अपेक्षा सिटीले लिएको छ । जनवरी विन्डोसम्म ठूला प्रतियोगितामा बार्सिलोनाको स्थिति कस्तो हुनछ, त्यसअनुसार मेस्सीको विषयमा क्लबले निर्णय लिन सक्नेछ ।

यता, मेस्सी अर्को सिजनसम्म पर्खिंदा ३४ वर्ष पुग्ने हुँदा ग्वार्डिओला मेस्सीलाई चाँडोभन्दा चाँडो अनुबन्ध गरेर मेस्सीसँग सहकार्य गर्न चाहन्छन् । तर, ग्वार्डिओलाको चाहनालाई बार्सिलोनाले सजिलै पूरा दिने स्थिति भने देखिँदैन । मेस्सी सिटी जाने विषय धेरै हदसम्म यो सिजन बार्सिलोनाको सुरुआत र मेस्सीको स्थितिले निर्भर गर्नेछ ।

प्रकाशित मिति २ कार्तिक २०७७, आईतवार २०:२९
Loading...